वातावरण

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

इकागज |
असोज १३, २०८० शनिबार १४:३८ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो ।
     
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि वर्षा गराउने प्रणाली (न्यूनचापीय क्षेत्र) को विकास भएकाले अबको केही दिन बदली र वर्षाको सम्भावना रहेको बताए । “भारतको पश्चिमी भू–भागबाट मनसुन बर्हिगमनको प्रक्रिया सुरु भइसकेको छ । तर, अहिले बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो अझै शक्तिशाली हुँदै उत्तर–पश्चिमतिर सर्ने क्रममा रहेकाले नेपालबाट मनसुन बाहिरिन समय लाग्ने देखिन्छ”, उनले भने । 
 
मौसमविद् अधिकारीका अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई÷चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उनले भने, “पूर्वमा विकसित न्यूनचापीय प्रणाली देशको पश्चिम र सुदूरपश्चिमसम्म प्रभाव नरहन सक्छ । पूर्वी र मध्य भेगमा धेरै पानी पर्ने सम्भावना देखिन्छ ।”
     
यो वर्ष दसैँ ढिलो भएकाले पनि किसानले बाली भित्र्याउने तरखरमा छन् । यो बेला मनसुनको प्रभाव बढी कृषि र यातायात क्षेत्रमा पर्नसक्ने भएकाले सम्बन्धित निकायलाई सतर्कता गराउन अनुरोध गरिएको महाशाखाले जनाएको छ ।
    
 नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । देशको पूर्वी भेगभएर मनसुन देशभर फैलिन्छ । यस्तै मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् यो वर्ष असोज १५ गते भए पनि मनसुन ढिलोगरी बाहिरिने अनुमान गरिएको छ । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । रासस



Author

थप समाचार
x