वातावरण

काठमाडौँका पेट्रोल पम्पमा छैन अपांगमैत्री शौचालय, पाँच मिनेट पनि बस्‍न सक्दैनन् प्रयोगकर्ता

महानगरको निर्देशन : दुई वटा शौचालय अनिवार्य बनाउनू र निरन्तर सफा राख्‍नू

अतिन आचार्य |
चैत २, २०८० शुक्रबार १५:२५ बजे

काठमाडौँ- रिङ्गरोड धोबीखोलाको किनारमा रहेको राजधानी पेट्रोल पम्पमा शारीरिक रूपमा अशक्त (रिना खत्री) नाम परिवर्तन पुगिन् । उनको स्कुटरमा पम्पका कर्मचारीले दुई लिटर पेट्रोल हालिदिए ।

पेट्रोल भरिसकेपछि​ रिनाले पम्पको छेउमा स्कुटर साइड लगाइन् । बिस्तारै स्कुटरबाट झरिन् र तेल हाल्ने कर्मचारीलाई शौचालय कहाँ छ भनेर सोधिन् । उनले हातको इशाराले शौचालय देखाइदिए । शौचालय पम्पको बायाँतर्फ कुनामा छ । तर, उनी शौचालय र आफ्नो अवस्था देखेर गइनन् । उनी स्कुटरतर्फ फर्केर आफ्नो गन्तव्यतर्फ नै लगिन् ।


'हामीलाई शौच गर्न गाह्रो हुन्छ । यस्तोमा शौच गर्न असम्भव छ,' उनले भनिन्, 'शौचालयमा महिला र पुरुष भनेर नछुट्याएकोमा महिलामैत्री समेत छैन ।'

सञ्जिव शर्मा त्रिपुरेश्वरको मायाराम भोलाराम पेट्रोल पम्पमा मोटरसाइकल लिएर पुगे । तीन लिटर पेट्रोल मोटरसाइकलमा हाले । पेट्रोलको पैसा तिरे र शौचालयतर्फ लागे ।

शौचालय उनले सोचेजस्तो पाएनन् । 'पाँच मिनेटका लागि शौचालय गएको थिएँ । 'शौचालयबाट आएको दुर्गन्धले कतिखेर बाहिर निस्कौँ जस्तो भयो,' उनले इकागजसँग भने  । 

सार्वजनिक शौचालयको बोर्ड पम्पमा राखिए पनि भनेजस्तो सफा नपाउँदा आफू निराश हुनुपरेको उनले बताए । सार्वजनिक स्थानसँग सरोकार राख्ने शौचालय सफा राख्नु पर्ने उनको भनाइ छ ।

'शौचालयमा पानी पर्याप्त थिएन,' उनले भने, 'एकदमै फोहोर छ । केही क्षण बस्न सक्ने अवस्था पनि छैन ।'

काठमाडौँ महानगरपालिकाले गत पुसको दोस्रो साता पेट्रोल पम्पमा शौचालय अनिवार्य बनाउन निर्देशन दिएको थियो । महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहित बसेको बैठकले ४५ दिनभित्र शौचालय सञ्चालनमा ल्याउनु पर्ने निर्णय गरेको थियो ।

महानगरका प्रहरीसहितको टोलीले महानगरमा प्रतिवेदन पनि बुझाइसकेको छ । धेरै शौचालय अव्यवस्थित र फोहोर रहेको, अपाङ्गमैत्री नभएको र टायलसहित हुनुपर्ने तर सिमेन्ट गरेका शौचालय रहेको तथा पम्पहरूमा पहेँलो रंग लगाउनु पर्ने निर्णयहरू महानगरमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।  

सोही अनुरूप काठमाडौँ महानगरभित्रका पेट्रोल पम्पहरूले शौचालय निर्माणदेखि रंगरोगन पनि गरे । केही पम्प सञ्चालकहरूले सेवाग्राहीका लागि शौचालयसमेत प्रयोगमा ल्याइसकेका छन् । तर, महानगरभित्र रहेका अधिकांश पेट्रोल पम्पका शौचालयहरू प्रतिवेदनमा भनिएजस्तो अपाङ्गमैत्री नरहेको पाइएको छ । पम्प सञ्चालकहरूले पनि शौचालयको सरसफाइमा खासै ध्यान नदिएको पाइयो ।

महानगरमा प्रतिवेदन बुझाइसकेको थाहा पाएपछि इकागज प्रतिनिधिले मुख्य-मुख्य स्थानको पेट्रोल पम्पको शौचालयको अवलोकन गर्‍यो । प्रतिनिधिले तीनकुनेदेखि त्रिपुरेश्वर, सुकेधारा र नेपाल प्रहरीको पम्प लगायत अन्य स्थानका शौचालय भ्रमण गरेका थिए । 

शौचालयमा प्रतिवेदनमा हुनुपर्ने जस्तो कुनै पनि सामग्री राखिएको पाइएन । शौचालयमा हात धुने साबुन, सरसफाइका अन्य सामग्री र अपाङ्गमैत्री नभएको तथा दुई वटा शौचालय नभएको पाइएको छ ।  

तीनकुनेस्थित भ्याली बाबा सप्लायर्स पम्पका सञ्चालक राजकुमार शाहले शौचालय सफा गरेर राखिएको बताए । शौचालयमा २४ घण्टा पानीको उपलब्धता हुने व्यवस्था मिलाइएको पनि उनले बताए ।

'शौचालयमा चाबी लगाएर राखिएको छ । आवश्यक पर्दा सेवाग्राहीहरू चाबी लिएर जान सक्छन्,' उनले भने, 'हाम्रोमा २ वटा शौचालय बनाइएको छ । सबैले प्रयोग गर्न सक्छन् । तर, अपाङ्गमैत्री शौचालय भने बनाइएको छैन ।'

पम्पमा अहिलेसम्म शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरू नआएको उनले बताए । 'आवश्यक परेमा हामी अपाङ्गमैत्री शौचालय पनि बनाउँछौं,' उनले अगाडि थपे, 'हामीलाई महानगरले दुई वटा शौचालय बनाउनु भनेको थियो । बनाइसकेका छौं ।'

महानगरले शौचालय सफा राख्नका लागि आग्रह समेत गरेको सञ्चालक शाहले उल्लेख गरे । शौचालय सफा राख्न सामग्री उपलब्ध गराउन माग गरिएको उनले जानकारी दिए । काठमाडौँमा अहिले पानीको आपूर्ति हुन्छ तर सुख्खायाममा हामीलाई पानी उपलब्ध गराउनु पर्ने माग राखेको उनले सुनाए ।

काठमाडौँ महानगरका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पेट्रोल पम्प सञ्चालकलाई दुई वटा शौचालय बनाउन निर्देशन दिएको बताए । महानगरभित्र पम्पमा अपाङ्गमैत्री शौचालय नभएकाले बनाउन आग्रह गरिएको उनको भनाइ छ ।

'केही स्थानमा शौचालय निर्माण हुँदैछन्,' उनले भने, 'निर्माण हुँदै गरेकालाई अपाङ्गमैत्री बनाउन र सफासुग्घरसँग राख्न भनिएको छ । सबै पम्पलाई देखिने स्थानमा शौचालय राख्न लगाइन्छ ।'

शौचालय महानगरले निर्देशित गरेकै आधारमा बन्नुपर्ने उनको भनाइ छ । 'सबैले देख्ने ठाउँमा अनिवार्य दुई वटा शौचालय बन्नुपर्नेछ,' उनले अगाडि थपे, 'टायलसहितको बनाउनुपर्छ र पानीको उपलब्धता हुनैपर्छ । सिमेन्ट पलाष्टर गरेको हुनु हुँदैन ।'

दुई वटा शौचालय नबनाएकाले अनिवार्य दुई वटा बनाउन लगाउने उनले बताए । चावहिलस्थित मित्र पार्कको पुष्पाञ्जली पम्पको शौचालय गल्लीभित्र भएकाले त्यसलाई बाहिर बनाउन लगाइएको उपरीक्षक जोशीले जानकारी दिए ।

महानगरले भने जस्तै शौचालय र पेट्रोल पम्पलाई रंगरोगन गर्न लगाइएको उनले बताए । महानगरभित्रका तीन वटा मात्र शौचालयमा रंग लगाउन बाँकी रहेको उनको भनाइ छ ।

उनका अनुसार नेपाल प्रहरीको नक्सालस्थित र सामाखुसीमा बाँकी छ । बल्खुको साझा पेट्रोल पम्पमा पहेँलो रंग लगाउन बाँकी रहेको उनले जानकारी दिए । महानगरपालिकामा कुल ५० वटा पेट्रोल पम्प रहेका छन् । हाल ४८ वटा पम्प मात्र सञ्चालनमा छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x