फेसन

मोरङका २६ वर्षीय नूतन बने नयाँ मिस्टर नेपाल

इकागज |
बैशाख ४, २०७९ आइतबार १२:४६ बजे

काठमाडौँ - ‘मिस्टर नेपाल वल्र्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिस्टर वल्र्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई अघिल्लो संस्करणका ‘मिस्टर नेपाल वल्र्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट रनर्स अप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षीय समिप शाही थर्ड रनर्स अप तथा मोरङका २७ वर्षीय विशाल कट्वाल फोर्थ रनर्स अप छानिए । उनीहरूले क्रमशः रु ५०, ३०, २०, १५ हजार नगद पुरस्कारका रुपमा प्राप्त गरे ।


हयात रिजेन्सी होटलमा भब्य समारोहकाबीच आयोजित प्रतियोगितामा पूर्व मिष्टर नेपालद्वय डा. आयुष्मान घिमिरे र सन्दिप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री रिचा शर्मा, संचारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राजभाई सुवाल निर्णायकको रुपमा रहेका थिए । प्रतियोगितामा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कट्वाल फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट ठहरिए ।

‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

प्रतियोगितामा डाक्टर, इन्जिनियर, अभिनेता लगायत ब्यक्तित्वको समेत सहभागिता रहेको छ । अन्तिम प्रतिस्पर्धा लागि प्रतियोगीले फिजिकल फिटनेस, मोटिभेसन सेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ, कम्युनिकेसन स्किल लगायतका विभिन्न विषयमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य आदिबाट प्रशिक्षण लिएका थिए । प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।

उद्घोषण संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको सञ्चालन  रहेको कार्यक्रममा प्रतियोगीले आईआईएफटीका डिजाइनरहरुले तयार पारेको डिजाइन पहिरनमा र्याम्पमा उत्रिएका थिए । कार्यक्रममा एभरेस्ट ग्रुपको बिबोइङ तथा गायिका सुवानी मोक्तानले गीत प्रस्तुत गरेका थिए । 


Author

थप समाचार
x