जात्रा-पर्व

सन्तान दीर्घायुको लोकपर्व जितिया आजदेखि सुरु

सुभाष कर्ण |
असोज १८, २०८० बिहीबार १८:३६ बजे

जनकपुरधाम- सन्तानको दीर्घायुका लागि तराई मधेसमा मनाइने मिथिलाञ्चल क्षेत्रको लोकपर्व जितिया आज बिहीबारबाट सुरु भएको छ ।

व्रतालु महिलाहरूले पवित्र सरोवर पोखरी तथा तलाउमा नुहाई–धुवाई गरी चोखो भई नहाय खाय विधिबाट जितिया पर्वको संकल्पसहित विधिवत् रूपमा आरम्भ गरेका हुन् । जितिया पर्वको पहिलो दिन व्रत बस्नुअघि जनकपुरधामस्थित पवित्र सरोवर गंगासागर, धनुष सागर, अंगराज सर, रत्नसागर लगायतका पोखरी तथा तलाउहरूमा व्रतालुले स्नान (नुहाई धुवाई) गरेका छन् । 


महिलाहरूले नदी तथा पोखरीको घाटमा नै झिउनी, घिरौला तथा कतिपय ठाउँमा बासको पातमा भगवान जिमुतवाहन तथा दिवङ्गत सासूसहित मातृपक्षलाई तेल खरी (पिना) चढाएर श्रद्धाभाव प्रकट गरेका छन् । कठिन पर्वका रूपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायुको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गरेका छन् । 

यो पर्व मिथिलाञ्चल क्षेत्र एवं थारु क्षेत्रमा मनाइने गरिन्छ । आश्विन कृष्ण सप्तमी तिथिबाट आरम्भ हुने यो पर्व नवमीसम्म तीन दिन मनाइन्छ । यस पर्वमा ओंगठन र पारणको निकै महत्व हुन्छ । ओंगठनदेखि पारणको अवधिसम्म व्रतालु महिला निराहार उपवास बस्ने गर्छन् । 

अघिल्ला वर्षमा २४ घण्टादेखि ४२ घण्टासम्म उपवास बस्ने गरेका व्रतालु महिलाहरूले यस वर्ष ३० घण्टा उपवास बस्ने छन् । यो वर्ष ओंगठन शुक्रबार बिहान ४ बजेर ३८ हुनेछ भने पारण शनिबार १० बजेर ४७ मिनेटमा हुने पण्डित उमाशंकर झाले बताएका छन् ।

उनका अनुसार व्रतालु महिलाहरूले केराको पातमा पुरी, दही, मिष्ठान्न, कतिपय ठाउँमा चिउरा, दही जिमुतवाहनसहित दिवङ्गत मातृहरूलाई अर्पण गरेर ओंगठन गर्ने चलन रहेको छ । जिमुतवाहनलाई अर्पण गरेको प्रसाद परिवारका सबै सदस्यहरूले खाने गर्दछन् भने ससुराली पक्षका दिवङ्गत मातृलाई चढाएको प्रसाद अरू गोत्र भएकालाई दिने परम्परा रहेको छ ।

व्रत बस्नुअघि पर्वको पहिलो दिन नुहाईधुवाईपछि स्वरुची भोजन गर्ने चलन रहेको छ । अरू पर्वमा अशुद्ध मानिएकाे कोदोको रोटी, नुनीको साग र माछा खाने प्रचलन रहेको छ । प्रत्येक महिलाले अनिवार्य रूपमा नुहाय खायको दिन कोदो र माछा खाने चलन छ । व्रत बस्ने अवधि अष्ठमी र नवमी तिथि पारन अवधिसम्म पानी खान तथा थुक पनि निल्न नहुने अन्यथा व्रत भंग भएको मान्यताले यो पर्व निकै कठोर मानिएको छ । 

यस पर्वमा खरको तिनका पनि भाँचेको खण्डमा व्रत खण्डित हुने मान्यता रहेकाले निकै सावधानी पूर्वक व्रत बस्ने र समापन गर्ने गरिन्छ । यस पर्वमा सन्तानको दीर्घायुका लागि उनीहरूको टाउकोमा तेलखरि लगाउने परम्परा छ । यो पर्व गर्नाले सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति पारिवारिक सुख शान्ति तथा समृद्धि आउने जनविश्वास रहेको छ ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन एवं धार्मिक मान्यता रहेको छ । 

जितिया पर्व गर्ने आमाका सन्तानलाई कुनै आपत विपत आएको खण्डमा पनि जिमुतवाहनले बचाउने गरेको धार्मिक मान्यता रहेको छ । कसैको दुर्घटनामा परेर ज्यान जोगिएको खण्डमा अहिले पनि समाजमा तेरो आमाले खरजितिया गरेको भन्ने चलन रहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x