जात्रा-पर्व

जनकपुरधाममा पनि भित्र्याइयाे फूलपाती

सुभाष कर्ण |
कात्तिक ४, २०८० शनिबार १६:३८ बजे

जनकपुरधाम- विजयादशमीको अवसरमा जनकपुरधामस्थित राजदेवी मन्दिरसहितका शक्तिपीठहरूमा पनि फूलपाती भित्र्याइएको छ ।

शनिबार राजदेवी मन्दिर, अमरखाना मन्दिर, बौद्धीमाई मन्दिर, सोनासती माई मन्दिरसहित विभिन्न दुर्गा पूजनोत्सव लगायतका शक्तिपीठहरूमा बाजागाजासहित फूलपाती भित्र्याइएको हो । 


दसैँको सातौ दिन शनिबार राजा जनकको कुलदेवीका रूपमा मानिने राजदेवी मन्दिरसहितका शक्तिपीठहरूमा बाजागाजासहितका नेपाली सेना, नेपाल प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागितामा फूलपाती भित्र्याइएको छ । 

सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिति पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ । फूलपाती निकाल्ने क्रममा नेपाली सेना र नेपाल प्रहरीले चार/चार राउन्ड हवाई फायर गरेर सलामी दिएका थिए ।  मिथिलाञ्चल क्षेत्रमा यसलाई ‘बेलतोरी’ भनिन्छ । 

जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनहरूको समूहले शक्तिपीठभन्दा नजिक रहेका बेलको रुखमुनि गएर हिन्दु परम्परा अनुसार पूजापाठ गरेर फर्किएको छ । यही बेलतोरीमा तोडिएको बेलबाट पूजाका लागि बनाइएको माटोको मूर्ति माता भगवती स्वरूप दुर्गाको आँखा फोडिने अर्थात आँखालाई अन्तिम दिई मूर्तिलाई पूर्णता दिइनेछ । सात दिनसम्म आँखा छोपेर पूजा गरिने माता दुर्गाको पूर्ण प्रतिमाको पूजापाठ गरिनेछ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x