जात्रा-पर्व

इच्छाकामनाका किसान भन्दछन् –‘खसीबोकाको मूल्य नै पाइएन’

इकागज |
कात्तिक ५, २०८० आइतबार १०:१९ बजे

फाइल तस्बिर

भरतपुर- चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरेका छन् । इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेपनि मूल्य नपाएको बताए ।

‘दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन’, उनले भने, ‘केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।’ उनले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गरेका हुन् । कतिपय किसानले घरबाट नै खसीबोका बेच्ने गरेका छन् ।


यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन् । त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यन्टी मायाँले बताइन् । ‘खोरमा २० बाख्रा छन् । चार वटा २० हजारमा बेचियो’, उनले भनिन्, ‘अरु खसी बजार लगेर बेच्ने तयारीमा छु ।’

कोयलघारीकै डोपबहादुर गुरुङलाई विगत्को वर्षजस्तै यस वर्ष दसैँ खर्चको जोहो गर्न समस्या भएन । उनले घरमा पालेका खसीबोकाले दसैँ खर्च टर्ने भएको छ । घरमा पालेका १०  खसीबोका बिक्री गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेको उनले बताए । खसीबोका बिक्रीबाट गुरुङले दशैँमा करिब ९० हजार रुपैयाँ आर्जन गरेका छन् । उनले पाँच दिन अगाडि खसीबोका बिक्री गरेका हुन् । ‘यहाँबाट धेरैले बजार लगेर पनि बेच्छन् । बजारमा तानातान गर्नुभन्दा घरमै आएका बेला व्यापारीलाई हचुवामा बेचेँ’, उनले भने ।

कोयलघारीकी वीरमाया गुरुङ पनि नारायणगढ खसी लगेर बेच्ने तयारीमा छिन् । यसपटक दसैँ खर्च जोहो गर्न चार खसी बेच्ने उनले बताइन् । ‘३० बाख्रा छन् । चार वटा पाठा बेच्न नारायणघाट जाने हो’, उनले भनिन्, ‘छोराछोरीलाई लुगाफाटा ल्याउने नै यी पाठा बेचर हो ।’ प्रत्येक वर्ष खसीबोका बेचर दसैँ मनाउने गरेको उनले सुनाइन् ।

खानीगाउँ र कुलयघारीमा एक सय आठ घरधुरी छन् । अधिकांशको घरमा कम्तीमा २०  बाख्रा छन् । गाईभैँसी कम पाल्दै आएका उनीहरुको मुख्य आम्दानी बाख्रा नै हो । अधिकांशले दसैँमा खसीबोका बेचेर मनाउने गर्दछन् ।

अघिल्लो वर्ष यहाँका किसानले खसीबोका प्रतिकिलो  छ सय रुपैयाँसम्म मूल्य पारेका थिए । अहिले उत्पादन बढी र आर्थिक मन्दीका कारण खपत कम हुँदा मासुको मूल्य घटेको इच्छाकामना गाउँपालिकाका पशु शाखा प्रमुख डा सुनील ज्ञवाली बताउँछन् । ‘पहिले बेच्दै आएका कृषक समूह र सहकारीले पनि बेच्नुभएको छैन’, उनले भने, ‘उत्पादन धेरै भएपछि पाँच सय रुपैयाँमा पनि किसानले बेच्ने गर्नुभएको छ ।’ अहिले बजारमा काटेर ठिक्क पारेका खसीको मासु एक हजार दुई सयमा बिक्री भइरहेको छ । इच्छाकामना गाउँपालिकामा चार हजारको हाराहारीमा बाख्रा रहेको तथ्याङ्क छ । दसैँमा खसीबोकाको कारोबार भने यकीन नभएको उनले बताए ।


Author

थप समाचार
x