जात्रा-पर्व

माला गाँस्न भ्याइनभ्याइ

इकागज |
कात्तिक २५, २०८० शनिबार १९:२६ बजे

नुवाकोटको शिवपुरी गाउँपालिका-६ स्थित गुर्जेमा बजारमा बिक्री गर्न लानका लागि सयपत्री फूलको माला उन्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस

​​घोराही- दाङमा फूल खेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।

घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूल खेती गरेका लोकेन्द्र रोका मगर फूल टिपेर माला बनाउन थालेका छन् । यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि आजदेखि फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताए । उनले विगतमा तिहारको समयमा रु सात लाखभन्दा बढीको फूल बिक्री गरेको बताए ।


लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूल खेती गरेका किसानले तिहारका लागि फूल बिक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ । माला बनाएर शीत भण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए । 

'जिल्लाभित्रैकै माग धेरै छ,' उनले भने । रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूल खेती गरेका हुन् । उनले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गरेका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दसैँतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूल खेती गर्न थालेका हुन् । 'दाङमा व्यावसायिक रूपमा फूल खेती कतै थिएन, काठमाडौँमा फूल खेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि सुरु गरेको हुँ,' रोका मगरले भने ।

रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूल खेती गर्दै आएका छन् । घोराही बजार नजिकै फूल खेती गरेपछि आफूलाई बजारको समस्या नभएको उनी बताउँछन् । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेको बताए । फूलको माग दसैँतिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ । 

जिल्ला फूल खेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रूपमा फूल खेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएकी हुन् । उनले पनि अहिले फूल टिपेर माला बनाउन थालेकी छिन् । तिहारका लागि माग हुन थालेको उनको भनाइ छ । 

'माला बनाउन थालेका छौँ,' उनले भनिन् । प्रतिमाला रु ८० देखि रु दुई सयसम्ममा बिक्री गर्ने गरेको बुढाले बताइन् । जिल्लामै व्यावसायिक रूपमा फूल खेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनी बताउँछिन् । अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली र चाया फूलको खेती गरेको बुढाले बताइन् ।  

एक/दुई कट्ठाबाट सुरु भएको जिल्लाको फूल खेती हाल आएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रूपमै फूल खेतीमा जोडिएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाहीसहितको सूचना जारी गरेका छन् । रासस


Author

थप समाचार
x