जात्रा-पर्व

छठ पर्व सुरु, ​दुल्ही झै सिँगारिँदै पोखरी र तलाउ

सुभाष कर्ण |
मंसिर १, २०८० शुक्रबार २०:५०:१० बजे

जनकपुरधाम- मिथिलाञ्चलको लोकपर्व मानिएकाे छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको एक दिनपछि छठ पर्व विधिवत् रूपमा सुरु हुन्छ । आज पहिलो दिन नहाय खाय सम्पन्न भएको हो ।

यस दिन व्रतालुहरूले नदी, तलाउ तथा पोखरीहरूमा नुहाई धुवाई गरी चोखो भएर अरबा चामलसहित शुद्ध परिकार खाएर चार दिनसम्म मनाइने छठ पर्वको संकल्प लिने गर्छन् । स्नान गरी शुद्ध भएका व्रतालुहरूले 'अब जथाभावी खाँदिन र तन-मनले आस्था र निष्ठाका साथ विधि विधानसहित व्रत गर्ने' प्रणसहित संकल्प लिने गर्छ ।


छठको दोस्रो दिनलाई खरना भनिन्छ । खरनाको दिन नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सक्खरको खीर, रोटी, दूधलगायतका परिकार कुलदेवतालाई नैवेद्य दिइने गरिन्छ । यस दिन व्रतालुहरू साँझपख एक छाक मात्र नैवेद्यमा चढाइएका प्रसाद सामग्री भोजनको रूपमा ग्रहण गर्ने गर्दछन् । छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानी समेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यासको रूपमा लिइन्छ । कार्तिक शुक्ल षष्ठी अर्थात् तेस्रो दिनलाई छठको मुख्य दिन मानिन्छ । छठमा सूर्यको पूजा अर्थात अस्ताउँदो सूर्यलाई अर्घ्य दिने भएकाले व्रतालुहरू पानीसमेत नपिई निराहार बस्ने गर्छन् ।

यस दिन साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई पूजा गरेर प्रसाद सामग्रीलाई अर्घ्य दिने गरिन्छ । कात्तिक शुक्ल सप्तमी अर्थात् छठको अन्तिम दिन उदाउँदो सूर्यलाई पूजापाठसहित अर्घ्यदान पूजाआजा गरिन्छ । उदाउँदो सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् । छठमा पवित्रतालाई अति महत्वपूर्ण मानिन्छ । 

मिथिलाञ्चलसहित तराई मधेशबाट सुरु भएको यो पर्व अहिले संघीय राजधानी काठमाडौँलगायत पहाड र हिमालमा समेत मनाउन थालिएको छ । कुम्हालेले बनाएको माटोको भाँडो, डोम समुदायले बनाएको नाङ्लो, ढकिया, मालीले दिने फूल, किसानले उत्पादन गर्ने अन्नबाट यो पर्व मनाइन्छ । यो नै एउटा यस्तो पर्व हो जसमा सबै समुदायको प्रत्यक्ष संलग्नता हुन्छ र कृषि उपजलाई ग्राह्यता दिइन्छ । यस पर्वलाई समावेशिताको प्रमुख कारकको रूपमा समेत लिन सकिन्छ । यसमा कोही धनी, गरिब, उचनीच वर्ग देखिँदैन । क्षमताअनुसार प्रसाद चढाउने र सबै वर्ग एकै ठाउँमा बसेर पर्व मनाउने गर्छन् । 

छठ पर्वको अर्घ्यमा अदुवा, बेसार, गहुँ पिठोको ठकुवा, चामल पिठोको भुसुवा, उखु, सुथनी, फलफूल, मिठाई, बैगन, मुलासहित तरकारी प्रसादको रूपमा चढाइन्छ । यस पर्वको महत्व भनेकाे प्रसादका लागि तयार पारिने सामग्री नवनिर्मित माटोको चुल्होमा माटोको भाँडोमा वा शुद्ध भाँडोमा तयार पारिन्छ । यति मात्र नभई डुम जातिले बनाएको बाँसको नाङ्लो, सुप्ती, कोनिया, ढकिया र माटोका ढकनी, सरबा र कुरबार लगायतका भाँडा बर्तन प्रयोग गरिन्छ । 

पोखरीहरू नवदुल्ही झै सिँगारिँदै

​यता छठ पर्वको अर्घ्यदानका लागि जनकपुरधामस्थित पवित्र सरोबर गंगा सागर, धनुषसागर, अंगराज सर, दशरथ तलाउलगायतका दुई दर्जनभन्दा बढी पोखरीहरूको घाट छठ पर्व मनाउन सजाउने कार्य तीव्र रूपमा भइरहेको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरधामस्थित पोखरी तलाउहरू सरसफाइ गरी कपडा पण्डालसहित झिलिमिली विद्युतीकरण गरी नवदुल्ही झै सिँगारिँदै छ ।

छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको घाट पूजा समितिले जानकारी दिएको छ । गंगा सागर छठ पूजा मूल समितिका संयोजक अशोकलाल दासले सरसफाइ गरी घाट सजाउने कार्य ७५ प्रतिशत भन्दा बढी भइसकेको छ भने पूजा दर्शनका छठीमाताको मूर्ति बनाउने कार्य अन्तिम चरणमा रहेको बताएका छन् । 

यो वर्ष गंगासागर पोखरीको डिलमा घाट व्यवस्थित गर्न छठ पूजा समितिले नम्बरिङ गरिदिएको छ । पोखरीको चारैतिरका डिलमा करिब पाँच हजार जति बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउन सक्ने गरी तयारी गरिएको समितिले जनाएको छ । उनका अनुसार सर सजावट पूजा व्यवस्थापनका लागि समितिले यस वर्ष प्रति परिवार अर्घ्यको हिसाब साढे पाँच सय रुपैयाँ सहयोग राशि शुल्क राखिएको छ । 

जनकपुरधाममा व्रतालुहरू राति छठ घाटमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कन्छन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिने चलन छ । आज कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दान दिएपछि सम्पन्न हुनेछ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x