जात्रा-पर्व

छठ पर्वको खरना विधि सम्पन्न

सुभाष कर्ण |
मंसिर २, २०८० शनिबार २२:१० बजे

जनकपुरधाम- छठ पर्व अन्तर्गत आज खरना विधि सम्पन्न भएको छ । चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुहरूले छठीसहित इष्टदेवलाई पूजा आराधना गरी खरना विधि सम्पन्न गरेका हुन् ।

व्रतालुहरूले माटोको नयाँ चुलो र माटो कै नयाँ भाँडोमा सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्यको रुपमा दिनु पर्ने हुन्छ । खरनामा छठ पर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउनु पर्ने हुन्छ । खरनामा नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि चढाइन्छ । नैवेद्यलाई केराको पातमा राखेर छठीमातासहित इष्ट देवतालाई चढाइन्छ ।


नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने गरेका छन् । यो सँगै दिनभरि निराहार उपावास बसेकी व्रतालुहरूले नुनरहित खरना खाएका छन् । खरनासँगै व्रतीले खाएको नुनरहित खानापछि करिब ४८ घण्टा भन्दा बढ समयसम्म निराहार बस्ने गर्दछन् । खरनालाई छठ पर्व आस्था र निष्ठाका साथ सम्पन्न गर्ने संकल्प गर्ने विधिरुको रुपमा समेत मानिन्छ । 

छठ अन्तर्गत भोली बिहानदेखि नै प्रसादहरू छठ घाटमा लखेर राखिने र साँझ अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिने कार्यक्रम रहेको छ । पर्सि बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिएर छठ व्रतको विधिवत् रुपमा समापन गरिन्छ । सोही दिन व्रतीले ४८ घण्टाको कठोर उपवासपछि खाना खाने गर्दछन् जसलाई परना भनिन्छ ।

विश्व शान्ति, मानव कल्याणका साथै परिवार जनको खुसी, शान्ति, समृद्धि, सन्तान प्राप्ति तथा निरोगिताको कामनासहित छठ पर्व मनाउने चलन रहेको छ । चार दिनसम्म मनाइने छठ पर्वको आज देखि पर्सीसम्मको विधि नै मुख्य विधिको रुपमा रहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x