जात्रा-पर्व

अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)

बाबुराम भण्डारी |
मंसिर ३, २०८० आइतबार १८:१ बजे

विराटनगर- सूर्य उपासनाको पर्व छठको अवसरमा आइतबार साँझ विराटनगरका नदी, नहर र तलाउ किनारमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएका छन् । सूर्य अस्ताउनु पूर्व नै नदी, नहर र तलाउ किनारका घाटमा पुगेका उनीहरूले पश्चिम फर्किएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । विराटनगरको पूर्व र पश्चिमतर्फ बग्दै आएका सिंघिया, केशलिया र बुढी खोला तथा मोरङ-सुनसरी सिँचाइ आयोजनाको नहर किनारमा बनाइएका घाटमा छठका व्रतालुहरूले सूर्यलाई अर्घ्य चढाए । 

हिन्दु धर्मावलम्बीहरूले सूर्यलाई अर्घ्य दिएर सूर्यको स्तुति गर्नाले चिताएको मनोकामना पूरा हुने विश्वास गर्दछन् । सोही विश्वासमा श्रद्धालु भक्तजनहरूले छठ पर्व मनाउँदै आएका छन् । उनीहरूले ओखलमा कुटिएको गहुँको पिठोबाट पकाइएको ठेकुवा, केरा, जट्टासहितको नरिवलसहितका सामग्री सूर्यलाई अर्घ्य सँगै चढाएका छन्  । आज अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएपछि अधिकांश श्रद्धालुहरू घाटमै जाग्राम पनि बस्ने गर्दछन् ।


 

शनिबार पञ्चमी तिथिमा भक्तालुहरूले ‘खरना’ व्रत लिएका थिए । खरना समाप्तिपछि व्रतालुहरूले नुहाई धुवाई गरेर चोखो भएर घरको नयाँ चुल्होमा पकाइएको खीरलाई प्रसादका रूपमा प्रयोग गरे । 

कात्तिक चतुर्थीदेखि सुरु हुने छठ सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन हुन्छ । भोलि बिहानै भक्तालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतसँगै छठ पर्वको समापन गर्नेछन् । मिथिला संस्कृतिसँग जोडिएको छठ पर्व अहिले तराईका जिल्लाका साथै पहाडमा पनि उत्तिकै जाँगरका साथ मनाउन थालिएको छ । तराईमा पनि मैथिली भाषीसहित सबै समुदायले श्रद्धाका साथ छठ पर्व मनाउने प्रचलन अझ बढेर गएको जनाइएको छ ।

यसैबीच छठ व्रतकै अवसरमा कोशी प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सनातन हिन्दु राज्य आवश्यक रहेको भन्दै १९ औं पटक दण्ड प्रणाम गरेका छन् । छठको उपासना गर्दै पराजुलीले दण्ड प्रणाम गरेका हुन् । पराजुलीले २०४८ सालदेखि निरन्तर २९ वर्ष छठको व्रत उपासना गर्दै आएको बताएका छन् । यसपटक पनि आइतबार बिहान साढे १० बजेदेखि विराटनगर-३ पोखरियास्थित शिव पाञ्चायन मन्दिरबाट सिंघिया नदीसम्म पराजुलीले दण्ड प्रणाम सुरु गरेका थिए ।

करिब दुई किलोमिटरको यात्रा उनले भुईँमा घस्रिएर पार गरेका छन् । त्यसका लागि झण्डै चार घण्टा समय लागेको उनका स्वकीय सचिव लोकेन्द्र तिम्सिनाले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x