जात्रा-पर्व

मोहना घाटमा​ अस्ताउँदो सूर्यलाई अर्घ्य [तस्बिरसहित]

दीपक उपाध्याय |
मंसिर ३, २०८० आइतबार १९:१९ बजे

कैलाली- तराई मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्व आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइएको छ । निर्जला व्रत बसेका व्रतालुहरूले आइतबार साँझ मोहना छठ घाटमा गएर सूर्यलाई अर्घ्य दिएका हुन् ।


सत्य र अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्न मनाइने तराईवासीको महान् चाड छठ पर्व यस पटक मंसिरमा परेको छ । तीन दिनसम्म मनाइने छठ पर्वको दोश्रो दिन अर्थात सप्तमी तिथिलाई छठको मुख्य दिनको रूपमा मानिन्छ । जसलाई संझीया घाटे पनि भनिन्छ । सप्तमीको दिन व्रतालु महिलाहरूले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाई र भोलिपल्ट अष्टमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । छठ पूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ । धनगढीको मोहना घाटमा श्रद्धालुको भिड लागेको थियो ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x