जात्रा-पर्व

अनिष्ट भगाउन कीट र ढुङ्गाको पूजा

इकागज |
चैत २१, २०८० बुधबार १९:३५ बजे

फाइल फाेटाे

तनहुँ - यहाँका गुरुङ समुदायमा अनिष्ट भगाउनका लागि फलामको कीट र दर्शन ढुङ्गालाई देवता मानेर पूजा गर्ने चलन रहिआएको छ । यो पूजालाई मेलापर्म तथा खेतबारीमा उत्सवका रुपमा मनाउने गरिन्छ ।

तनहुँको दमौलीमा रहेका दुई सय ४८ घरका गुरुङले वर्षायाम सुरु हुन लागेसँगै गुरुङ पुरोहित (खेगी) मार्फत मङ्गलबार विशेष विधिद्वारा फलामको कीट र दर्शन ढुङ्गाको पूजा गरी घर प्रवेश गराई पवित्र बनाएका छन् । 


गुरुङ समुदायले ‘ट्वटे’ भन्ने यस पूजामा उनीहरुको मौलिक संस्कृति तथा रहनसहन झल्किने गरी पूजा गर्दछन् । विशेष पूजा गरेपछि प्रसादका रुपमा बलि दिइएको बोकाको मासु र चालमबाट बनाइएका विशेष परिकार (कैँदु) खाने र अबेर रातिसम्म नाचगान गरी उत्सव मनाउने चलन रहेको मूल गुरुङ पुरोहित हस्तवीर गुरुङले जानकारी दिए । 

पूजा विधिअनुसार समाजमा आबद्ध प्रत्येक घरबाट ल्याइएको रिपा (घाँटीमा लगाउने पहेँलो डोरी), भरी पानी सहितको करुवा, तीनमुखे फलामको करुवा (घरको मूल भएको), फलामको कीट र दर्शन ढुङ्गालाई गुरुङ पुरोहितद्वारा ढ्याङ्ग्रो र झ्याली बजाएर विशेष पूजाआरधाना गरिने उनको भनाइ छ ।

६ जना गुरुङ पुरोहित निराहार व्रत बसेर बिहानदेखि पूजाआराधना गरी गाउँ प्रवेशको चौबाटोमा पुरानो हलो गाड्ने र गाउँमा कसैलाई पनि रोग, नलागोस् भन्ने कामना गरिने अर्का गुरुङ पुरोहित प्रताप गुरुङले बताए । आफूसहित तुलवीर गुरुङ, ज्योतिपच्यू गुरुङ, मनराज भुजापच्यू, मोहन सिंह पूजाकर्ममा खटिएको उनले जानकारी दिए । 

“गाउँमा कसैको पनि कुनै प्रकोप वा घटनाबाट मृत्यु नहोस् भन्ने कामना गरी सबै घरमा किट र दर्शन ढुङ्गा लगेर ट्वटे पूजा गर्ने चलन छ”, प्रतापले भने, “वर्षायाममा घरमा चट्याङ नपरोस् र बाढीपहिरो तथा अन्य सरुवा रोगहरु नलागोस् भनेर यसरी पूजा गर्दै आएका छौँ ।”

पूजाको दिन मन्त्रद्वारा सिद्ध गरिएको कीट र दर्शन ढुङ्गालाई घरभित्र लगेर छर्ने र घरबाहिर मूल ढोकामा फलामको तीनमुखे करुवा ठोकेर घर पवित्र बनाउने चलन रहिआएको तमु सुधार समाजका पूर्वअध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । यसरी गरिने ट्वाटे पूजामा प्रत्येक घरबाट सामग्री नल्याए अनिष्ट हुन्छ भन्ने विश्वासले गर्दा कुनै पनि घरका मानिस नछुट्ने उनको भनाइ छ ।

“पूजाको दिन सबै घरका सदस्यले कीट र दर्शन ढुङ्गाको पूजा गर्ने गर्दछन्”, मनबहादुरले भने, “भावी पुस्तालाई यो प्रकृति पूजाको संस्कृति सिकाउनुपर्छ भनेर यसलाई निरन्तरता दिँदै आएका छौँ ।

उक्त पूजाका लागि दर्शन ढुङ्गा र फलामको कीट संकलन गरेर राख्ने गरेको व्यास–४ दमौलीका आरन सञ्चालक मनबहादुर विकले बताए । “पूजाका लागि कीट र दर्शन ढुङ्गा किन्न आउनेको चाप बढी हुने गर्दछ”, उनले भने, “यो समयमा ती सामान बेचेरै रु तीन हजारसम्म आम्दानी हुने गरेको छ ।”

पूजा गरेको कीट र दर्शन ढुङ्गालाई घरभित्र छर्किने र मूल ढोकामा फलामको करुवा नठोकेसम्म नराम्रो शक्तिले दुःख दिन्छ भन्ने विश्वास रहिआएको व्यास–२ दमौलीकी ५२ वर्षीया मीना गुरुङले बताए । 

“पहिल्यैदेखि यो परम्परा मनाउँदै आएका छौँ । यसले हाम्रो संस्कार तथा संस्कृति जोगाउँदै आएको छ”, उनले भने, “पूजा गरेपछि घरमा अनिष्ट हुँदैन भन्ने विश्वास छ ।” पूजाको दिन र पूजा गरेपछि पहिलोपटक पानी पर्दा सम्मानस्वरुप मेलापर्म नगरी उत्सव मनाएर प्रसादस्वरुप मीठो परिकार खाने प्रचलन गुरुङ समुदायमा रहेको तमु सुधार समाजले जनाएको छ । 
रासस


Author

थप समाचार
x