जात्रा-पर्व

नुवाकोटमा सिन्दुर जात्राकाे रौनक

इकागज |
बैशाख १०, २०८१ सोमबार १५:१० बजे

फाइल तस्बिर

काठमाडाैँ - नुवाकोटको सिन्दुरे (भैरवी वर्ष बन्धन) जात्रा यो वर्ष मनाउन सुरु गरिएको छ । नुवाकोटकै प्रमुख धार्मिक जात्राको परिचय पाएको सिन्दुरे जात्रा आजबाट सुरु भएको छ । याे ४ दिनसम्म चल्नेछ।

वैशाखपूणिर्माको आसपासमा धामी-धमिनीलाई सिन्दुर हालेर यो जात्रा मनाइन्छ। पूणिर्माको दिन नुवाकोट भैरवीमन्दिरको रथ देवीघाटको जालपा देवीको मन्दिरमा पुर्‍याएपछि भव्यतासाथ प्रारम्भ हुने यो मेलामा द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर खेलिन्छ।


चैत शुक्ल चतुर्दशीको दिन साततले दरबार सँगै रहेको भैरवी मन्दिरमा हुने सिन्दुरे जात्राको निम्ता स्वरूप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती छ। किंवदन्तीअनुसार जालपादेवी भैरवी मन्दिरमा आएपछि दिदी आएको अवसरमा सिन्दुर जात्रा गरी हर्ष बढाइँ गरिएको हो।

जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि सिन्दूर जात्रा गरिन्छ। सिन्दूर जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ। द्वितीयाको राति धामीले भैरवी परिसरमा राँगा र बोकाको बली लिने चलन छ। 

चैतशुक्ल पूर्णिमाको राति पर्ने उक्त दिन जालपादेवी मन्दिरमा धामीले भोगबली राँगा, बोका, हाँस, कुखुरासहित माछाकोसमेत भोग खाएपछि देवता चढेको विश्वास गरिएको धामीबाट ‘पूर्णिमाको राति लालमोहरको आशय’मा आगामी वर्ष नेपालको भविष्यवाणी हुने गर्छ ।

देवीघाट पुर्‍याइएको भैरवीको रथ र धामी जालपादेवी मन्दिरबाट फर्केर धरमपानीमा पुगेर बाँस बस्ने र भैरवी रथयात्रा आफ्नै आसनमा पुर्याइ राजप्रतिनिधि शाहीबाट धामी र धमिनीलाई सिन्दुर छर्केसँगै हर्ष र उल्लासका साथ सिन्दुरे जात्रा मनाइन्छ ।

नुवाकोट मण्डलामा रहेको भैरवीदेवी मन्दिर बहिनी र र देवीघाटमा रहेको जालपादेवी मन्दिर दिदीबीचको एकताका रुपमा समेत मनाइने गरिएको यस जात्राको विशेष रौनक छ । 

सिन्दुर जात्राकाे इतिहाँस

नेपालको इतिहासमा उल्लेख भएअनुसार सात तले दरबारको दक्षिणतर्फ रहेको माता भैरवीलाई देशको रक्षक मानिन्छ। नेपाल-चीन युद्ध हुँदा राजा रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण विजय प्राप्त गरेको भन्ने विश्वास इतिहासका ज्ञाताहरुले गर्दै आएका छन्।

भैरवीको सिन्दुर जात्रा सांस्कृतिक रुपले अपरम्पार छ। देवी जात्रा अर्थात् सिन्दुरे जात्रालाई यस क्षेत्रमा विशेष महत्वसाथ हेरिन्छ। हरेक चैत्रशुक्ल पूर्णिमाका दिन सिन्दुरे जात्रा धुमधाम साथ मनाइन्छ। 


Author

थप समाचार
x