अर्थ / बाणिज्य

गहुँ, चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत

इकागज |
असार २९, २०७९ बुधबार १८:२१ बजे

काठमाडौंँ - भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज उनको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरेको औपचारिक भेटवार्तामा यस्तो जानकारी दिएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारले केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णयले नेपाली उद्योगलाई समस्या उत्पन्न हुन थालेको बताएपछि राजदूत श्रीवास्तवले निर्यात प्रतिबन्ध नेपालको लागि नभएको उल्लेख गरे ।


‘भारत सरकार भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,’ राजदूत श्रीवास्तवले भने, ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चर (संयुक्त उपक्रम) जसरी नै काम गर्न चाहन्छौं ।’

महासंघका अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वाधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाएका थिए । गोल्छाले भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले यसलाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए । उनले लामो समयदेखि मीरगंज पुल बन्न नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै निर्माणका लागि आग्रह गरे । 
नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाइलाई भारत सरकारले सम्बोधन गर्नुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो । 

उनका अनुसार गैरभन्सार अवरोधका कारण मुख्यतया कृषिजन्य उत्पादन र जडिबुटी निर्यातमा समस्या देखिएको छ ।  यसैगरी तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि गोल्छाले भारतीय राजदूत समक्ष आग्रह गरे ।

भारतीय राजदूतले सडक, रेल, हवाई र साथै डिजिटल कनेक्टिभिटी देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन भारत सरकार तयार रहेको बताए । ‘ल्याव टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तरको ल्याव स्थापना गरेको, काठमाडौंमा रहेको ल्यावलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भइरहेको छ,’ राजदूत श्रीवास्तवले भने, ‘अर्को ल्याव उपयुक्त स्थानमा बनाउन मैले नेपालका वाणिज्य मन्त्री समक्ष अनुरोध गरेको छु ।’

राजदूत श्रीवास्तवले महासंघका तर्फबाट पनि नेपाल सरकारमा प्रयास हुन सुुझाव दिए ।  गैरभन्सार अवरोधका सम्बन्धमा महासंघले राखेका गुुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोधबारे आफूलाई जानकारी नभएकाले त्यस्ता समस्या छन् भने समाधान गरिने प्रतिबद्धता पनि राजदूत श्रीवास्तवले व्यक्त गरे । अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गरेपछि राजदूत श्रीवास्तवले उक्त कार्यमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको उपस्थिति रहेको उक्त भेटवार्तामा उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । 


Author

थप समाचार
x