अर्थ / बाणिज्य

रोकिएन अझै पटका आतंक : ठूला आवाजमा विस्फोट हुँदा पनि प्रशासन मौन

इकागज |
कात्तिक १०, २०७९ बिहीबार १८:४९ बजे

भैरहवा- ​हिन्दुहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाई संघारमा हुँदासमेत पटकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो । 

लक्ष्मीको पूजा, झिलिमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यस्को एउटा अंग पटका र आतिशबाजी बन्न पुगेको छ । नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिशबाजी पटका भने नेपालमा अवैध रूपमा भित्रिएर पड्किने गर्छ । 


नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयले समेत सूचना नै जारी गर्दै ओसारपसार र पड्काउनसमेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठूला-ठूला आवाजमा पटका पड्किरहेका छन् । भारतमा खुला रूपमा पाइने र पड्काउनसमेत मिल्ने प्रावधान भएकोले सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटका भित्रिने गर्छ । 

सुरक्षा निकायले समेत तिहारलाई लक्षित गर्दै सीमाबाट पटका भित्रिन नदिन कडाईका साथ चेकजाँच गरे पनि पटकाको आतंक तिहार आउनुभन्दा पहिलैबाट र लक्ष्मी पूजा सकिँदासमेत भइरहेको छ । सीमावर्ती क्षेत्रका बजारमा मात्रै होइन गाउँ-गाउँ र उपत्यकासम्म पटकाको आतंक रहेको छ । 

भारतबाट भित्र्याएर गैरकानुनी रूपमा बिक्री–वितरण हुने गरेको छ । सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरूमा लुकिछिपी बिक्री–वितरण भएर यो आतंक अझै पनि रोकिएको छैन । अधिकांश जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि यत्रतत्र पटका पड्किएको आवाज सुनिएको छ । 

प्रशासनको बेवास्ताका कारण यस्ता गैरकानुनी क्रियाकलापले प्रसय पाएको छ । प्रतिबन्धित पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा रूपन्देही प्रहरीले कसैलाई कारबाही गरेको छैन । विगतका वर्षहरूमा भारी मात्रामा पटकाजन्य वस्तु बरामद गरेपनि यो वर्ष खासै प्रहरीले नियन्त्रण लिएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यस वर्ष खासै पटकाजन्य वस्तु नियन्त्रणमा नआएको बताए । 'हामीले यस वर्ष कसैलाई कारबाही पनि गरेका छैनौं,' उनले भने । 

सीमा सुरक्षा र अवैध ओसारपसार नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले भने अवैध पटकाजन्य नियन्त्रणमा लिई डिस्पोज समेत गरेको बताए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले चेकजाँचको क्रममा जिल्लाका विभिन्न क्षेत्रबाट युनिटले पटकाजन्य बरामद गरेको थियो, युनिट स्वयंले नै डिस्पोज गरेको छ । 

ठूला ठूला आवाजमा पटका विस्फोट हुँदा समेत प्रशासन मौन रहेको स्थानीयहरूको भनाई छ । अरूलाई असर गर्ने, कान नै जाने गरी पटका जथाभावी रुपमा पड्काउँदा वृद्ध र बालबालिकामा धेरै असर गर्ने गर्छ । पटका जलाउँदा आखा कानमा प्रत्यक्ष असर गर्ने  भएपनि सावधानी नअपनाइ पटकासँग खेल्दा निस्किने आवाज र धुवाँले दीर्घकालीन असर समेत गर्न सक्छ ।

रमाइलोका लागि ठूलो रकम खर्चेर पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ । न्युज कारखाना


Author

थप समाचार
x