अर्थ / बाणिज्य

उद्घाटनमा हतारो, अधुरैमा शिलान्यास

कतै काम नसकिँदै उद्घाटन, कतै प्रक्रिया नै नपुर्‍याइ शिलान्यास

सुनीता साखकर्मी |
बैशाख १०, २०७८ शुक्रबार १७:६ बजे

काठमाडौँ : २०७२ बैशाख १२ मा आएको कम्पन थेग्‍न नसकेर धरहरा गर्ल्याम्म ढल्यो । बाँकी रह्यो केबल ठूटो । त्यही ठूटोलाई ज्यूका त्यूँ राखेर त्यसको सामुन्‍नेमा अहिले २२ तले संरचना (सरकारको भाषामा धरहरा) ठडिएको छ । जसको यही बैशाख ११ गते उद्घाटन हुँदैछ ।

शिलान्यास र उद्घाटन गर्न हतारो गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली धरहरामा पनि सोही कदम दोहोर्‍याइरहेका छन् । प्रधानमन्त्रीको उद्घाटनमोहकै कारण अहिले त्यहाँका कामदारलाई भ्याइनभ्याइ छ । प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएपछि मजदुरलाई उक्त संरचनामा सेतो रंग पोत्‍नेदेखि गजुर ठड्याउनेसम्मको काम गर्न चटारो छ । तर, धरहराको पूरै काम कहिले सकिन्छ भन्‍ने अझै टुंगो छैन ।


कन्सल्टेन्ट कम्पनी एमआरबी एसोसिएट जेभीले तयार गरेको ‘कस्ट इस्टिमेट तथा ड्रइङ डिजाइन’ अनुसार धरहराको सम्पूर्ण काम भने सम्पन्‍न भइसकेको छैन । त्याे काम सक्न अझै समय लाग्छ । धरहरा वरपरका पार्क, पार्किङलगायत थुप्रै संरचना बन्‍न बाँकी नै छ । तर, कामै नसकी प्रधानमन्त्रीको दबाबमा पुनर्निर्माण प्राधिकरणले उद्घाटन गर्न हतारो गरिरहेको छ ।

‘कामै पुरा नभई किन उद्घाटन गर्न लाग्‍नुभएको ?’ भन्‍ने इकागजको प्रश्‍नमा राष्ट्रिय पुनः प्राधिकरणका सहप्रवक्ता एवं सूचना अधिकारी मनोहर घिमिरेले भने, ‘धरहराको काम पुरै सकिएर नै उद्घाटन गर्न लागिएको हो । तपाईंहरुले धरहराको पुनः निर्माणलाई दुई भागमा विभाजन गरेर हेर्नुपर्छ । एउटा धरहराको संरचना र अर्काे त्यस वरपरका संरचना । अहिले धरहराको संरचना पूर्ण रूपमा तयार भएको छ, अहिले त्यही संरचनाको मात्रै उद्घाटन गर्ने हो । वरपरका संरचना बन्दै गर्छन्, आगामी पुसभित्र सबै कार्य पूरा हुन्छ ।’

बैशाख ११ गते धरहरा उद्घाटन हुन्छ । तर, धरहरा चढ्न आतुर सर्वसाधारणको लागि भने त्यो खुला हुने छैन । धरहरा चढ्न अझै केही महिना कुर्नुपर्ने हुन्छ । सूचना अधिकारी घिमिरेकाअनुसार सर्वसाधारणले धरहरा प्रवेश गर्न भने अझै आठ महिना कुर्नुपर्छ । उनी भन्छन्, ‘आगामी पुस सम्ममा धरहराको पुरै काम सम्पन्न हुन्छ । अनि मात्रै सर्वसाधारणले धरहरा चढ्न पाउँछन् ।’  

यसरी हेर्दा बैशाख ११ गते प्रधानमन्त्रीले गर्ने भनिएको उद्घाटनको खासै महत्व नै देखिँदैन । यो त उद्घाटन शब्दको अर्थसँग पनि मेल खाँदैन । किनकि, बैशाख ११ मा धरहरा उद्घाटन भएपश्चात प्रयोगमा आउन सुरु हुनुपर्ने हो । नेपाल बृहत शब्दकोषले उद्घाटनलाई ‘आवरण वा पर्दा हटाउने काम’ को रूपमा अर्थ्याएको छ । क्याम्ब्रिज शब्दकोषमा उद्घाटनलाई ‘आधिकारिक रूपमा प्रयोग गर्न सुरु हुने कार्य’ को रूपमा व्याख्या गरिएकाे छ ।

तर त्यसविपरीथ धरहरा उद्घाटन भएपछि पनि यहाँ महिनौंसम्म कामदारले काम गर्नै बाँकी छ । सूचना अधिकारी घिमिरेले भनेझैं धमाधम काम भयो भने त धरहरा वरपरका संरचना आगामी पुससम्ममा तयार हुन्छ । अनि धरहरा निर्माण गरिरहेको रमण कन्स्ट्रक्सनले धरहरा सरकारलाई हस्तान्तरण गर्छ । अनि मात्रै बल्ल सर्वसाधारणले उक्त धरहरा चढ्न पाउनेछन् ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी ललितत्रिपुरा सुन्दरीको सम्झनास्वरुप निर्माण गरेको धरहरा १९९० सालको भुकम्पले भत्काएको थियो । त्यसको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले साविकबमोजिम नौ तल्ला नै कायम गरी पुनःनिर्माण गरेका थिए ।

२०७२ को भूकम्पले फेरि धरहरा भत्किएपछि यसको पुनःनिर्माणको घोषणा अहिलेका प्रधानमन्त्री ओलीले नै गरेका थिए । धरहराको स्केच बनेर निर्माणको काम नै सुरु भएदेखि नै कसले बनाउनेदेखि कत्रो बनाउने, किन बनाउने, कस्तो बनाउनेलगायत थुप्रै विषय विवादित बन्दै आएको छ । धरहराको पुनःनिर्माण कि नवनिर्माण भनेर पहिलेदेखि नै विवाद हुँदै आएको हो । अहिले कामै नसकी आधा भाग मात्रै उद्घाटन गर्ने भएपछि झनै विवादित बनेको छ ।

पछिल्लो समय कामै नसकी वा प्रक्रिया नै पूरा नगरीकन शिलान्यास र उद्घाटन गर्ने कुरा फेसन झैँ भएको छ । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा शिलान्यास भएर निर्माण सुरु भएको ‘चमेलिया जलविद्युत् आयोजना (३० मेगावाट) को थियो । तर निर्माण कार्य ३० प्रतिशत पूरा भएको बेला नै नेपालले उद्घाटन गर्ने तयारी गरेका थिए । तर पछि नेपाल आफैले उक्त शिलान्यास कार्यक्रम रद्द गरेर आफ्नाे नैतिकता देखाएका थिए ।

धरहरा, चमेलिया मात्रै होइन, अन्य थुप्रै संरचना वा आयोजना पूरै नभई उद्घाटन भएका वा हुने प्रयास जारी छन् । प्रक्रिया नै नपुर्‍याइ शिलान्यास गर्ने, एउटै आयोजना खण्डखण्डमा विभाजन गर्दै उद्घाटन, शिलान्यास गर्ने काम भएका छन्, जसको सूचि लामो छ । प्रक्रिया नै नपुगी शिलान्यास र उद्घाटन भएका केही आयोजनाका संरचनाबारे हामीले यहाँ कोट्याउने प्रयास गरेका छौँ ।

सिंहदरबार प्रधानमन्त्री कार्यालय उद्घाटन

फागनु ३ गते प्रधानमन्त्री ओलीले सिंहदरबारको प्रधानमन्त्री कार्यालय उद्घाटन गर्न पुग्दा सिंहदरबार पनि पुरै पुनः निर्माण भइसकेको थिएन । रंगरोगन गरी चिटिक्क बनाएको कार्यालय सामुन्‍नेको भाग भने हरियो पालले छोपिएकै अवस्थामा थियो । उनले भूकम्पपछि प्रबलीकरण गरिएको सिंहदरबारको तीनवटा मोहडाको उद्घाटन गरे ।

यो मात्रै होइन, उनले उद्घाटन गरेकै कार्यालयभित्र पनि पूरै काम सकिएको थिएन । कोभिड-१९ लाई कारण देखाउँदै प्रधानमन्त्री ओली झन्डै एक वर्ष सिंहदरबार छिरेनन् । मन्त्रिपरिषद् बैठकसमेत नगरेका ओलीलाई थुप्रै आयोजना उद्घाटन, शिलान्यास, निरीक्षण र अनुगमन गर्न भने भ्याइनभ्याइ थियो । यही क्रममा उनले आफ्नै कार्यालय पनि पूरै नबनीकन उद्घाटन गरिदिए । किनकि, उनले उद्घाटन गरेको नयाँ कार्यकक्षमा ढोका हाल्नै बाँकी नै थियो । प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीले उद्घाटन गर्ने बेलामा कार्यालयमा टेलिफोन र इन्टरनेटलगायतका सुविधाहरू पनि जडान भएका थिएनन् ।

कोभिड कहरपछि उनी पहिलोपटक फागुन ३ गते सिंहदरबार छिरेका थिए- भूकम्पपछि प्रबलीकरण गरिएको सिंहदरबार प्रधानमन्त्री कार्यालय उद्घाटन गर्न ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भ्याटबाहेक ८७ करोड रूपैयाँमा लागतमा प्रधानमन्त्री कार्यालय रहेको पुरानो भवनको केही भाग सबलीकरण गरी प्रधानमन्त्रीको लागि नयाँ कार्यकक्ष तयार गरेको जनाएको छ ।

प्रारम्भिक तयार बिना १६५ निर्वाचन क्षेत्रको २२ सय किलोमिटर सडक सञ्‍जालको शिलान्यास  

परियोजनाको प्रारम्भिक तयारी पनि पुरा नगरी चैत २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले १६५ वटा सडकको एकैपटक शिलान्यास गरे । बालुवाटारमा आयोजित एक समारोहबाटै सबै निर्वाचन क्षेत्रका एक-एक गरी १६५ वटा सडकको एकैपटक शिलान्यास गरेको प्रधानमन्त्री सचिवालयले जनाएको थियो ।

तीन वर्षमा पुरा गर्ने लक्ष्य राखेर ५७ अर्ब १० करोड रुपैयाँ  लागतमा बन्‍ने यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भइसकेको छैन । त्यति मात्र हाेइन, यी परियाेजनालाई बजेट नै विनियाेजन गरिएकाे छैन ।  त्यसैले शिलन्यास लाजको पसारो बाहेक केही हुन सकेन ।

सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालू आर्थिक वर्षको बजेटमार्फत् सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

ठेक्का सम्झौता नै नगरी सुनकोशी मरिन डाइभर्सनको शिलान्यास

ठेक्का सम्झौता नै नभई फागनु २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा कुसुमटारको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको शिलान्यास गरिदिए । फागुन १२ मा परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीलाई दिने आशयपत्र मात्रै जारी गरेको थियो ।

तर परियोजनाको लागि कम्पनीसँग सम्झौता भने भइसकेको थिएन । जलस्रोत तथा सिंचाइ विभागका प्रवक्ता कृष्णप्रसाद नेपालले १२ फागुनमा नै आशय पत्र जारी भए पनि शिलान्यास गर्नुअघि सम्झौता नै नभएको जनाएका थिए । तर परियोजनाअन्तर्गत सुरुङबाट सुनकोशी नदीको पानी खस्‍ने स्थल सिन्धुलीको कमलामाई नगरपालिका-२ कुुसुमटारमा प्रधानमन्त्रीले उद्घाटन गरिदिए ।

१० अर्ब ५ करोड ६८ हजार ३७ लाख ४६४ रूपैयाँको लागतमा बन्‍ने परियोजनाले २८.६२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत् सरकारले सुनकोशी-मरिन आयोजनाका लागि दुई अर्ब ४६ करोड रूपैयाँ बिनियोजन गरेको थियो ।

दुई तल्ले भवनमा माथिल्लो तल्ला जाने सिँढी नै नबनाई छात्रावास उद्घाटन

पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित श्री जयनारायण आदर्श माध्यमिक विद्यालय, मेहेलबोटेको दुईतले छात्रावास २०७६ कात्तिक ७ गते नै उद्घाटन भइसकेको छ । प्राविधिक धारमा अध्ययनरत विद्यार्थीलाई आवासीय सुविधा दिने उद्देश्यले निर्माण गरिएको यो भवन अहिले वेवारिसे बनेको छ । किनकि यो छात्रावास पनि अधुरै उद्घाटन भएको हो । दुईतले भवनको माथिल्लो तल्लामा जाने भर्‍याङ नै राखिएको छैन । आवश्यक शौचालय, रेलिङजस्ता पूर्वाधार नै नराखी छात्रावासको उद्घाटन भने हतारहतार भइसकेको छ ।

२०७६ कात्तिक ७ गते प्रदेश १ का तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले यो छात्रावासको उद्घाटन गरेका थिए । विद्यालयका प्रधानाध्यापक विनोद अधिकारीका अनुसार छात्रावास उद्घाटन भएको डेढ वर्ष नाघिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । उनका अनुसार यो छात्राबास बनाउन निर्माण समिति गठन भएको थियो । त्यही समितिले यसको निर्माणको जिम्मा लिएर बनाएको थियो ।

‘सुरुमा डिजाइन फरक थियो, भूँई तल्लामा आठ वटा कोठा बनाएर माथिल्लो तल्लालाई पछिल्तिर बाटोसँग जोडेर सटरको निर्माण गर्ने योजना थियो, तर पछि दुबै तलामा कोठा बनाउने निर्णय गरेर बनाए,’ उनी भन्छन्, ‘गाउँपालिकाको उपनिर्वाचनलाई लक्षित गरी निर्माण नसकिँदै उद्घाटन भयो । छात्राबासमा बस्‍न थालेपछि शौचालय जानुपर्ने हुन्छ, माथिल्लो तल्लामा जान सिँढी छैन, कसरी प्रयोग गर्ने ? त्यसैले हामीले प्रयोग नै गरेका छैनौँ ।’

अहिलेसम्म अधुरो हुलाकी राजमार्गको ६ वर्ष अघि नै भइसक्यो उद्घाटन

पूर्व-पश्चिमसम्मका तराईका सर्वसाधारणको जीवनस्तरलाई उकास्‍न भन्दै निर्माण सुरु भएको हुलाकी राजमार्ग निर्माणको काम सुरु भएको एक दशक बितिसकेको छ । तर अहिलेसम्म यसले पूर्णता भने पाएको छैन ।

वर्षाैँदेखि अधुरो छ हुलाकी राजमार्ग । निर्माणाधीन हुलाकी राजमार्ग आवतजावत गर्न कठिनाइ छ । झापाको झापा गाउँपालिका पश्चिममा पर्ने कन्काई  नदीमा पनि पुल नबन्दा त्यहाँ निर्माणाधीन हुलाकी राजमार्गमा अहिले पनि सवारीसाधनको आवागमन हुन सकेको छैन । कन्काई नदी तर्न बनाउन थालिएको पुलको पिलर मात्रै बनाएर छाडिएको छ । १८०० किलोमिटर भन्दा बढी निर्माण हुनुपर्ने यो राजमार्गको ६०० किलोमिटर मात्रै निर्माण भएको छ ।

तर यो राजमार्गको २०७३ मै उद्घाटन भइसक्यो । २०७३ माघ ६ गते तत्कालिन भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रञ्जित रायले अधुरो हुलाकी राजमार्गको उद्घाटन गरेका थिए । निर्माण सम्पन्‍न नभई नै सम्पन्‍न भएको भनेर उद्घाटन गरिएको थियो । थुप्रै पुल, सडक निर्माण हुन बाँकी नै थियो भने डेढ सय हेक्टर वन क्षेत्र मासिने भएपछि वन मन्त्रालयले पनि सडक निर्माणको लागि स्विकृति दिएको थिएन ।

सन् २००२ मा भारतको सहयोगमा राजमार्ग बनाउने भनेर सैद्धान्तिक सहमति भयो भने २००६ मा भारतसँग पहिलो सम्झौता भयो । २०१० मा पहिलो ठेक्का भयो । २०६५/६६ बाट निर्माण सुरु भएको थियो ।

परीक्षणकालमै उद्घाटन गरियो मेलम्ची

मेलम्चीको पानी आंशिक रुपमा काठमाडौँ उपत्यकावासीको धारामा झर्न थालेको छ । तर यो आयोजना पुरै नभई पटकपटक उद्घाटन भए । आयोजनाको मुहान (हेडवर्क्स) स्थायी रूपमा नबन्दै सिन्धुपाल्चोकको अम्बाथान र रिबर्मास्थित सुरुङमा पानी छिराउने प्रयास भयो । जसमा दुई जनाले शहादत प्राप्त गरे । त्यसपछि पुनः अन्तर्राष्ट्रिय विशेषज्ञहरूको टोलीले अध्ययन, अनुसन्धान र परीक्षण गरेपछि सुरुङमा पानी हुल्ने कार्यको आरम्भ ओली सरकारका आधा दर्जन मन्त्रीहरू गएर गरे ।

पानी हुलेको केही दिनपछि सुरुङ भरिएर सुन्दरीजलसम्म आइपुग्यो । त्यो पानी फोहोर थियो । प्रशोधन केन्द्रमा पठाउन नमिलेपछि ओली आफैँ सुन्दरीजल पुगेर सुरुङको पानीलाई बागमतीमा डाइभर्ट (पथान्तरण) गरे । त्यसको केही दिनपछि सुन्दरीजलस्थित जनही साढे आठ करोड लिटर क्षमता भएका दुईवटा पानी प्रशोधन केन्द्रमा पठाइयो । त्यहाँबाट नयाँ तथा पुराना थोक वितरण केन्द्रमा छाडियो । अन्ततः राष्ट्रपतिबाट पनि भृकृटीमण्डपस्थित आयोजना कार्यान्वयन निर्देशनालयले राखेको सार्वजनिक धाराको टुटी खोलेर उद्घाटन गरियो ।

मेलम्ची त आयो । तर पूर्ण रूपमा चक्रपथभित्रका उपत्यकावासीले सहज रूपमा पानी आउन अझै एक, डेढ वर्ष लाग्‍नेछ । कतिपय स्थानमा पाइप नै बिछ्याइएको छैन । पुराना पाइप फुटेर चुहावट उच्च छ । मेलम्ची आउनुअघि सातामा एकपटक पनि पानी नआउने भएकाले कति चुहावट छ भन्‍ने नै थाहा थिएन । अहिले केयूकेएलले कहाँकहाँ चुहावट छ भन्‍ने अध्ययन गरिरहेको छ ।

अन्य ठाउँमा परीक्षण गर्दै पानी वितरण गरिएको छ । अझै १७ करोड लिटर आउन केही दिन लाग्छ । परीक्षण गर्दै छाडिएको छ । पूर्णरूपमा दैनिक १७ करोड लिटर पानी आएपछि उपत्यकावासीले जार र ट्यांकरको पानी किन्‍नु नपर्ने अवस्था आउँदै छ । त्यसका लागि अझै केही समय लाग्छ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्चीसहित केयूकेएलले हिउँद याममा करिब २७ करोड लिटर आपूर्ति गर्न सक्छ । दैनिक १२ करोड लिटर पानी ट्यांकरवालाले आपूर्ति गर्दै आएका छन् ।

पूर्ण रूपमा मेलम्ची आउन सरकारले भनेको पत्याउने हो भने २०८१ सालसम्म कुर्नुपर्छ ।

काली गण्डकी प्रशारण करिडोर

माघ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । आयोजनास्थलमै पुगेर यस प्रशारण लाइनको उद्घाटन गर्ने योजना बने पनि प्रचण्ड-माधव पक्षले गरेको आम हड्तालका कारण प्रधानमन्त्रीले यस आयोजनाको भर्चुअल उद्घाटन गरेका थिए ।

सोही आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्‍नपूर्ण गाउँपालिका-३ दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको समेत उद्घाटन गरेका थिए । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्‍न भई सञ्चालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रित हुने जनाएका थिए ।

पशुपतिमा पुरै जलहरी नराख्दै उद्घाटन 

फागनु १२ गते बुधबार दिउँसो सर्वाेच्च अदालतभित्र न्यायाधीशसामु अधिवक्ताहरुले पशुपतिको मूल ज्योर्तिलिंगको जलहरीलाई सुनले मोड्ने काम तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै बहस गर्दैगर्दा उता पशुपतिमा भने राष्ट्रपति विद्यादेवी भण्डारीले सुनैसुनले मोडिसकेको जलहरी उद्घाटन गरिसकेकी थिइन् ।

तर बुधबार पशुपतिमा पूजामात्र भएको, सुनको जलहरी पुरै नराखेको बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले बताएका थिए । पशुपतिमा प्रचार भएजस्तो सुनको जलहरी पुरै नराखेको उनले जनाएका थिए । वैद्य पशुपतिको पश्चिम गेटबाट साँझको ५ः४१ बजे मन्दिर पुगेका थिए । तर कोषले प्रचार गरेजस्तो मन्दिरमा सुनको जलहरी पुरै नराखिएको उनले सुनाए ।

‘एक चौथाई काम त अझै बाँकी छ,’ उनले भने, ‘कोषले पुरै जलहरी राख्ने काम सकियो भनेर झूठो प्रचार गरेछ ।’ 

आफ्नो स्वामित्वमा नै नआई उद्घाटन गर्नु हुन्न : पूर्व सचिव उपाध्याय

कुनै पनि सम्पत्ति निर्माण गरिरहेको कम्पनीले हस्तान्तरण नगरेसम्म उक्त सम्पत्ति उक्त कम्पनीको स्वामित्वमा रहन्छ । निर्माण पूरा भइसकेपछि उक्त कम्पनीले हस्तान्तरण गरेपछि मात्रै सरकारको स्वामित्वमा आउने हो । काम सम्पन्‍न गरिसकेपछि हस्तान्तरण भइसकेपछि मात्रै उद्घाटन गरिनुपर्ने हो । तर अहिले काम सम्पन्‍न नभई एकै ठाउँमा पटकपटक शिलान्यास गर्ने, उद्घाटन गर्ने चलन चलेको छ ।

उद्घाटन गर्ने वा शिलान्यास गर्ने पद्दति नबस्दा यस्तो भएको हो । राजनीतिक पार्टी र पदमा भएका व्यक्तिले यसबारे नीतिगत निर्णय नै गरेका छैनन् । काम देखाउनको लागि पटक-पटक शिलान्यास, उद्घाटन थुप्रै भएका छन् । नेता, प्रधामन्त्री, मन्त्रीले निर्देशन दिएपछि कर्मचारीले केही भन्‍न सक्दैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरीको ठेक्कालगायतका काम पनि दुई पटक भएको थियो ।  झलनाथ खनालले नागढुंगाको टनेलको शिलान्यास गरेका थिए, तर अहिलेका प्रधानमन्त्री ओलीले फेरि त्यसको शिलान्यास गरे ।

पटकपटक यस्तो काम दोहोरिएको छ । यो त विकृति नै भइसक्यो । बजेट पास नभई, डिजाइन पास नभई शिलान्यास, उद्घाटन मात्रै गरेर केही फाइदा पुग्दैन । बरु उल्टै यस्तो कामले नेतावा पदमा भएका मानिसको छवि नकारात्मक बन्छ । नागरिकले उनीहरुलाई विश्वास गर्न छोड्छन् । त्यसैले यसप्रति ध्यान दिनुपर्छ ।  

र, यो पनि 

धरहरा पुनर्निर्माण कि नवनिर्माण ?


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x