अर्थ / बाणिज्य

कोइलाबास भन्सारकाे राजस्व संकलन लक्ष्यभन्दा ४ सय प्रतिशत बढी

इकागज |
असार २४, २०८० आइतबार १४:३५ बजे

काठमाडौँ- दाङको कोइलाबास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो । जेठ मसान्तसम्ममा ८३ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका भन्सार संकेत निरीक्षक वसन्त रजौरेले जानकारी दिए ।


आर्थिक वर्ष सकिन अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने पनि उनले बताए । सबैभन्दा बढी पुष र जेठ महिनामा १५ लाख राजस्व संकलन भएको छ । पुष र जेठ महिनामा स्वर्गद्वारी जाने भारतीय पर्यटक बढी आएकाले राजस्व संकलन पनि बढेको कार्यालयले जनाएको छ ।

कोइलाबास नाकाबाट विशेष गरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारी साधनबाट राजस्व उठाउने गरिन्छ । दाङको एक मात्र नाका कोइलावास भन्सार कार्यालयमा इन्टरनेटको समस्याका कारण भन्सारको काम लिखित रूपमै हुने गरेको छ ।

यस्तै कोइलाबासबाट गढवा–लमहीसम्मको सडकमा घुम्ती भएकाले ठूला गाडी आवागमनमा समस्या हुँदै आएको छ ।


Author

थप समाचार
x