अर्थ / बाणिज्य

बझाङ साइपालका पूर्व गाउँपालिका अध्यक्ष पोखरामा च्याङ्ग्रा बेच्दै

धनबहादुर गुरुङ |
कात्तिक ५, २०८० आइतबार १४:३८ बजे

पोखरा- पोखराको सिमपानी, जौबारी, हेमजा क्षेत्रमा यति बेला भेडा च्याङ्ग्राको बथान मात्र भेटिन्छ । ग्राहकहरू च्याङ्ग्रा रोज्न र व्यापारीहरू ग्राहकलाई मूल्य बताउन व्यस्त छन् । उनीहरूको व्यस्तता घटस्थापनाको अघिल्लो दिनदेखि नै भएको हो । हजारौंको संख्यामा च्याङ्ग्रा र सयौंको संख्यामा व्यापारी अहिले पोखरा छन् । त्यही हुलमा भेटिन्छन्, बझाङका साइपाल गाउँपालिकाका पूर्व अध्यक्ष राजेन्द्रबहादुर धामी ।

उनी असोज २६ गतेदेखि भेडा च्याङ्ग्राका लागि पोखरामा छन् । बझाङबाट २५ गते हिँडेका उनी ३ दिन ३ रातपछि पोखरा ओर्लिएका हुन् । उनी १ सय २७ भेडा च्याङ्ग्रासहित पोखरा आएका हुन् । उनका लागि दसैँमा भेडा च्याङ्ग्रा पोखरा ल्याउनु नौलो कुरो होइन । पूर्व गाउँपालिका अध्यक्ष धामीले २०६८ सालदेखि व्यापार गर्न सुरु गरेका हुन् । 


दसैँको समयमा भेडा च्याङ्ग्रा पोखरा ल्याएर बेच्ने क्रम २०७४ सालदेखि ब्रेक लाग्यो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्षमा टिकट पाए । जनताले साथ दिएपछि गाउँपालिका अध्यक्षमा विजयी भए । त्यसपछि उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे । जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झिए ।

२०७९ सालमा पुनः स्थानीय तहको निर्वाचनमा उनलाई फेरि जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । ‘पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो,’ उनले भने, ‘पार्टीले टिकट दिएन अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालन तिर लागेँ ।’ सोही कारण उनी अहिले पोखरामा छन् । उनलाई पूर्व गाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उनको सिद्धान्त छ । ‘म त पूर्व जनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु,’ उनले भने, ‘काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडिबुटी खोज्ने र व्यापार पनि गर्छु ।’

उनले ल्याएका भेडा च्याङ्ग्रा मध्ये १ सय १० वटा बिक्री भइसके । यहाँको व्यापारबाट भएको आम्दानीले धनगढी पुगेर दसैँ धुमधामले मनाउने राजेन्द्रबहादुरको योजना छ । ‘अब धेरै छैन । यि पनि आइतबारसम्म सबै बिक्छ अनि घर हिँड्ने हो,’ उनले भने, ‘अब बझाङ नै पुग्न गाह्रो छ । धनगढीतिर आफन्त छन् । त्यही दसैँ मनाउने हो ।’ 

उनले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजार रुपैयाँसम्म मूल्य तोकेका छन् । पूर्व गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुरले अरु समयमा बझाङ मै च्याङ्ग्रा बेच्ने गर्छन । यो व्यापारबाट उनले एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गर्ने उनी आफैँ बताउँछन् । ‘गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो । मैले उहाँहरूको सेवा पनि गरेँ,’ उनले भने, ‘अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दु:ख नै छ । मलाई जनप्रतिनिधि हुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ ।’

राजनीति सेवा भएकाले अवसर पाएको बेला सेवा गर्न र अरु बेला व्यवसाय गरेर आत्मनिर्भर हुन अरु जनप्रतिनिधिहरूलाई उनको सुझाव छ ।  


Author

थप समाचार
x