अर्थ / बाणिज्य

पोखरामा आयातित फूलमालाको अनुगमन : ४० हजार जरिवाना, १ लाख बढीको माला जफत

धनबहादुर गुरुङ |
कात्तिक २०, २०८० सोमबार २१:१२ बजे

पोखरा- पोखरा महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आयातित फूलमाला बिक्री वितरणमा रोक लगाएकाे छ । सूचना अनुसार महानगरले प्लाष्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरण र उपभोगमा पनि प्रतिबन्ध लगाएको हाे ।

महानगरले पोखराको १ सय ६५ रोपनी क्षेत्रफलमा सयपत्री फूल प्रवर्द्धन गरेकाले आवश्यक फूलका लागि कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास महाशाखामा सम्पर्क गर्न पनि पोखरा महानगरले अनुरोध गरेको थियो । तर, तिहार नजिकिँदै गर्दा पोखराका बजारमा छ्यापछ्याप्ती प्लाष्टिकजन्य फूलमाला देखिएको छ ।


सूचना जारी गर्दा पनि व्यवसायीहरूले अटेर गरेपछि महानगरको टोली अनुगमनमा निस्किएको छ । सोमबार पोखरा महानगरकी उपमेयर मञ्जुदेवि गुरुङ नेतृत्वको टोलीले पोखराको मुख्य बजारमा अनुगमन गरेको थियो । बजार अनुगमनका क्रममा टोलीले प्लाष्टिकजन्य माला जफत गर्दै जरिवाना पनि तोकेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीसँगको सहकार्यमा पोखराको मुख्य बजार महेन्द्रपुल, पालिखेचोक, बगर, विन्ध्यवासिनी, विरौटा क्षेत्रमा भएको अनुगमनमा अधिकांश पूजा सामग्री पसलबाट प्लाष्टिकजन्य फूलका माला जफत गरिएको हो ।

अटेरी गरेर बिक्री वितरणका लागि झकिझकाउ पारेर राखेको प्लाष्टिकका फूलमाला जफत गरेको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । ती पसलहरूमा स्थानीय उत्पादन प्रशस्त भएकाले वातावरणमैत्री फूलमाला प्रयोग गर्न सुझाएको उनले बताए ।

महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक गुरुङको नेतृत्वमा पोखराका एक दर्जन बढी पसलहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पोखराका विभिन्न स्थानका सात वटा पसललाई ४० हजार जरिवाना तोकिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । सोही पसलबाट १ लाख ९ हजार ६ सय १० रुपैयाँ बराबरका आयातित फूलका माला जफत गरिएको उनले बताए ।

यस्तै एक स्वीट हाउसबाट ३ सय रुपैयाँको खाद्यान्न पनि नष्ट गरिएको छ । अन्य पाँच पसलहरूलाई सचेत गराउनुका साथै आगामी दिनमा प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरण र भण्डार नगर्न निर्देशन दिइएको छ ।

पोखरा महानगरका उपप्रमुख गुरुङले प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा असर पर्ने भएकाले अनुगमन गरिएको बताइन् । उनले भनिन्, ‘चाडपर्वमा प्लाष्टिकजन्य फूलहरूको व्यापार बढी हुने भएकाले अनुगमन गरेका हौँ ।’


Author

थप समाचार
x