अर्थ / बाणिज्य

जुम्ला विमानस्थल विस्तार गर्न एक सय ८३ रोपनी जग्गा अधिग्रहण

इकागज |
मंसिर १०, २०८० आइतबार २१:३० बजे

फाइल तस्बिर

जुम्ला- जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए ।


जग्गा अधिग्रहणका लागि जुम्ला विमानस्थल कार्यालय प्रमुख अधिकारीलाई ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ तोकिएको जुम्ला विमानस्थल कार्यालयले जनाएको छ । ‘जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउने कार्यको लागि विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गरिएको हो । 

प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भनी नेपाल सरकार मन्त्रिपरिषदको विसं २०८० जेठ २ गते निर्णय भएको ब्यहोरा उल्लेख गरिएको छ । निर्णय कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विसं २०८० जेठ १० गतेको पत्रमार्फत लेखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयले विसं २०८० जेठ २३ गतेको पत्रअनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ (२) बमोजिम जुम्ला नागरिक उड्डयन कार्यालयका प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी प्रारम्भिक कारबाही चलाउने र प्रारम्भिक अधिकारीले सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीका लागि सूचना दिनुपर्ने व्यवस्था अनुसार पत्र सार्वजनिक गरिएको उनले जानकारी दिए । रासस


Author

थप समाचार
x