अर्थ / बाणिज्य

अर्थतन्त्र सुधारमा सरकार कटिबद्ध : कार्यवाहक प्रधानमन्त्री खड्का

इकागज |
मंसिर १५, २०८० शुक्रबार २०:२८ बजे

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले सर्वसाधारण जनसमुदायलाई कुनै पनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गरे ।

'हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी-कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो,' कार्यवाहक प्रधानमन्त्री खड्काले भने । सरकार अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताउँदै उनले चाँडै अर्थतन्त्र सही ट्रयाकमा आउनेमा विश्वास व्यक्त गरे ।


उनले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको उल्लेख गरे । 'अर्थतन्त्रको समस्यालाई हामीले सामूहिक रूपमा समाधान गर्न सक्छौँ । एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ-आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौँ भने अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण सहयोग हुनसक्छ,' उनले भने ।

विश्वको अर्थतन्त्र कोरोना महामारी, रुस-युक्रेन युद्ध र इजरायल-प्यालेस्टाइन सङ्घर्षलगायतले विश्व अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल पनि यसबाट अछुतो नभएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ थियो । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरणमा सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए ।

अर्थतन्त्रमा देखिएका सबै समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले सुधारका लागि सरकारले यथासम्भव प्रयास गरिरहेको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकार लगानीको वातावरणमा सुधार गर्न सुरुदेखि नै कटिबद्ध रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्र-मैत्री नीति तथा उपाय कार्यान्वयनमा ल्याइरहेको बताए । उनले अर्थतन्त्रमा केही सकारात्मक सङ्केतहरू पनि देखिएको बताए । सरकारले लगानी बढाउन लगानी सम्मेलनको तयारी गरिरहेको पनि उनको भनाइ थियो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले अर्थतन्त्रमा समस्या देखिएका बेलामा आर्थिक पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।


Author

थप समाचार
x