अर्थ / बाणिज्य

फागुन १७ देखि ७औँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुँदै

इकागज |
फागुन १३, २०८० आइतबार २०:७ बजे

काठमाडौँ- एस. डि. प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पोको यही फागुन १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ ।

आइतबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा एस.डि. प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो आयोजना हुन लागेको बताए । उनले एक्स्पोमा सबैभन्दा ठूलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुनुका साथै यस प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउने छ जसले देशैभरिका विभिन्न ग्राहकहरूको माग सम्बोधन गर्ने यसका साथै यस एक्स्पोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउँदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर दिने बताएका छन् । 


उक्त कार्यक्रममा बोल्दै केमसान नेपालका अध्यक्ष भक्तबहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक बर्ष नयाँ आविष्कार हुने भएकाले ति कुरा अस्पतालसम्म पुर्याउने उद्देश्यले उक्त एक्स्पो गर्न लागेको बताएका छन् । उनले यस प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने बताएका छन् ।

उनले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकले आफ्ना ८०० बढी ब्राण्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राख्ने बताए । मेडिकल तथा ल्याबको सबैभन्दा बृहत्  प्रदर्शनी नेपाल मेडिकल तथा ल्याब एक्स्पो हो जसले उल्लेखनीय बिक्रेता तथा क्रेताहरूलाई साझा हितका लागि एउटै मञ्चमा ल्याउने गर्दछ । यस प्रदर्शनीमा अस्पतालहरूका प्रमुख , डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरिददार समूहहरूका लागि मुख्य आकर्षण हुने हमालले बताएका छन् ।


Author

थप समाचार
x