अर्थ / बाणिज्य

ट्रायल सेन्टरको मनोमानी

बागमतीमा एक सातादेखि रोकिएको लाइसेन्सको ट्रायल कहिलेदेखि सुचारु हुन्छ?

प्रदेश सरकारले आफ्नै कार्यविधि बनाउँदै, उबडखाबड परिवर्तन गर्दै

अतिन आचार्य |
जेठ १३, २०८१ आइतबार १७:३१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले दुई पाङ्ग्रे चालक अनुमति पत्रको परीक्षा सुधार अन्तर्गत ट्रायल सेन्टरको केही संरचना परिवर्तन गर्ने भएको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले समिति बनाएर ट्रायल सेन्टरको सुधार गर्न लागेको हो ।

मन्त्रालयले ट्रायल सेन्टर अनुगमन गर्न समिति बनाइसकेको छ । समितिले स्थलगत निरीक्षण गरी प्रारम्भिक प्रतिवेदन पेश भएको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।


मन्त्रालयले दुई-चार दिनमा ट्रायल सुचारू हुन सक्ने जनाएको छ । ट्रायल सेन्टर सुधार गर्न समितिमा मन्त्रालयका मुख्य रामसुन्दर कुसुम, सम्बन्धित जिल्ला यातायात कार्यालयक प्राविधिक कर्मचारी र प्राचौ तहका प्रशासनिक कर्मचारी नारायणी भट्टराई रहेका छन् ।

उनका अनुसार प्रतिवेदनका आधारमा सम्बन्धित जिल्लाका यातायात कार्यालय मार्फत सुधार गर्न ट्रायल सेन्टरलाई पत्र लेखिसकेको छ । प्रतिवेदन बमोजिम सुधार भइरहेको छ । त्यो पूर्ण रुपमा तयार भएपछि प्राविधिक समितिले ठिक छ भनेपछि पुनः सुचारू हुन्छ ।

सूचना अधिकारीले ट्रायल सेन्टर कार्यविधि २०६८ मा पनि थियो र २०७४ अनुसार रहेको बताए । समितिले कार्यविधिमा भएका केही बुँदाहरूलाई परिवर्तन गर्न सुझाव दिएको उनको भनाइ छ ।

‘ट्रायल सेन्टरमा भएको उबडखाबड  मुख्य समस्या रहेको छ । कार्यविधिले तोकेको मापदण्ड अनुसार चालक दुर्घटनामा पर्न सक्नेछन्,’ प्रतिवेदनले औल्याएको बारेमा जानकारी दिँदै उनले भने,’ स्लोप एकदमै हाइ भएकाले मोटरसाइकलहरू लड्न सक्ने भनेर समितिले औल्याएको छ । मन्त्रालयले कार्यविधि सुधार गरेर जाने तयारी गरिरहेको छ । अहिले २०७४ को कार्यविधि अनुसार काम गर्ने गरी अगाडि बढेको छ ।‘

‘केही समय पश्चात बागमती प्रदेशले आफ्नै कार्यविधि बनाएर जाने गरी काम गरिरहेको छ,’ उनले अगाडि थपे,’ ट्रायल सेन्टरमा रहेका कमजोरीहरू सुधारेर लैजाने हो ।‘

२०७४ को कार्यविधि अनुसार लागू गर्ने भनिएको छ । कतिपय ट्रायल सेन्टरमा २०७४ को कार्यविधि लागू भइसकेको जवाफ आइसकेको उनले बताए । केही स्थानमा निरीक्षण भइरहेकाले अन्तिम प्रतिवेदन आउनसाथ ट्रायल परीक्षा सुरु हुने पौडेलको भनाइ छ ।

र, यो पनि

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x