बागमती

ट्रायल सेन्टरको बद्‌मासी

बागमतीमा कारबाही छल्न एक सातादेखि लाइसेन्सको ट्रायल ठप्प, हजारौं सेवाग्राही मर्कामा

अतिन आचार्य |
जेठ ११, २०८१ शुक्रबार १३:४५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- ट्रायल सेन्टरको लापरबाही र बागमती प्रदेशको यातायात व्यवस्था कार्यालयको फितलो अनुगमनका कारण बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र लिनबाट हजारौं सेवाग्राही वञ्चित भएका छन् ।

एक साताअघिदेखि लिखित-ट्रायल परीक्षा दिन नपाउँदा कयौं सेवाग्राही सवारी चालक अनुमति पत्रको परीक्षा दिन नपाएका हुन् । ट्रायल सेन्टरले मनोमानी ढंगले बनाउँदा सेवाग्राहीले ट्रायल दिन नपाउँदा हजारौं सेवाग्राही मर्कामा परेका छन् ।


राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्दा सवारीचालक अनुमति पत्र प्रदान गर्ने २०७४ बमोजिम ट्रायल सेन्टर नभएको बताएको थियो । प्रत्येक जिल्लाको यातायात व्यवस्था कार्यालय अनुसार फरक- फरक ट्रायल सेन्ट्रर हुन्छन् । यातायात कार्यालय कम कबोल गरेर आएकालाई ट्रायल सेन्टर सञ्चालन गर्न अनुमति दिएको हुन्छ ।

तर सतर्कता केन्द्रले अनुगमन गर्दा बागमती प्रदेशका अधिकांश ट्रायल सेन्टरले स्केच अनुसारको संरचना नबनाएकाले संशोधन गरेर स्केच बमोजिम बनाउन निर्देशन दिएकाले बन्द गरिएको बागमती प्रदेशको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिए ।

कार्यविधि र व्यवस्था बमोजिम स्केच बनाउनु भनेकाले केही समयका लागि दुवै परीक्षा स्थगन भएको उनले बताए । ‘स्केच अनुसारको बनेपछि पुनः परीक्षा हुनेछ । एक हप्ताको समय दिएको थियो र पुनः अनुगमन भएर सहमत भएमा दुवै परीक्षा सुचारु हुन्छ,’ उनले भने ।

उनका अनुसार ट्रायल सेन्टरले अगाडि ब्रेकर राख्नुपर्ने ठाउँमा ट्राफिक लाइट राखेका छन् । ट्राफिक लाइट राख्नुपर्ने ठाउँमा ब्रेकर बनाएका छन् । 

‘कार्यविधिमा व्यवस्था भए बमोजिम ट्रायल सेन्टर बनाइएको छ,’ उनले अगाडि थपे,’ तर आवश्यक र कार्यविधिमा उल्लेख भए बमोजिम नभएको भन्ने कुरा छ । क्रमैसँग राख्नुपर्ने तर क्रम भंगता तोडेकाले पनि यस्तो समस्या भएको हो ।‘

ट्रायल सेन्टरहरूले अगाडि-पछाडि राखेर बनाएकाले पनि समस्या देखिएको अर्यालको भनाइ छ । कार्यविधि अनुसार बनाउँदा-बनाउँदै कोहीबेला तलमाथि हुन सक्ने उनले बताए ।

उनका अनुसार कार्यविधिअनुसार नबनाएमा ट्रायल सेन्टर निर्माणमा पास हुँदैन । ‘धेरै कुराहरू मध्ये केही यताउता भएको हुन सक्छ,’ उनले स्पष्ट पारे ।

राष्ट्रिय सर्तकता केन्द्रले पुनः अनुगमन गरेर ठिक भनेमा सम्भवतः सोमबार वा आगामी शुक्रबारदेखि पुनः लिखित र ट्रायल परीक्षा सुरु हुने उनले दाबी गरे ।

बागमती प्रदेशमा लिखित र ट्रायल परीक्षा दिने स्थान सात वटा रहेको अर्यालले जानकारी दिए ।

ट्रायल सेन्टरको संरचना निजी सञ्चालकहरूले बनाउँछन् । सेन्टर सञ्चालकले यातायात व्यवस्था कार्यालयले उपलब्ध गराएको कार्यविधि तथा स्केचअनुसार सेन्टर निर्माण गर्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x