अर्थ / बाणिज्य

निगमको वाइडबडी विमानले 'सी-चेक' पायो

इकागज |
असार १४, २०८१ शुक्रबार १९:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल वायुसेवा निगमको वाइडबडी विमानको सम्पूर्ण मर्मत (सी-चेक) प्राप्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पहलपछि निगमको वाइडबडी विमानले सी-चेक पाएको हो ।

पर्यटनमन्त्री तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र निगमका कार्यकारी अध्यक्षसँग चरणबद्ध छलफल गरी निर्देशन दिएपछि कल साइन नाइन एनएनवाई विमानले सी-चेक पाएको हो । क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी-चेकको अनुमति दिएको थिएन । मन्त्री तामाङले क्यानको नेतृत्वसँग छलफल गरेपछि आज क्यानले निगमलाई सो अनुमति प्रदान गरेको हो । 


मन्त्री तामाङले क्यान र निगमका प्रतिनिधिलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर विमान मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिँदै छिटो सी-चेक सम्पन्न गर्न निर्देशन दिएका थिए ।

क्यानको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी-चेकका लागि क्यानले निगमलाई अनुमति दिएको जानकारी दिए । वायुसेवा निगमले जुन २२ मा निगमको एक वाइडबडी विमान दुबई हुँदै मर्मतका लागि इटाली पठाएको थियो । सो जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । इटालियन कम्पनी एटिटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिइएको छ । 

निगमका प्रवक्ता रमेश पौडेलले वाइडबडी जहाजको सी-चेकका लागि क्यानले अनुमति दिएको पत्र निगमलाई प्राप्त भएको जानकारी दिए । दुईवटा वाइडबडी विमानमध्ये कल साइन नाइन एनएनवाई जहाज यही जुन २५ देखि सी-चेक नभएकाले उडान गर्न पाएको थिएन । यस विमानको मर्मत सम्पन्न भएपश्चात् निगमको अर्को ए ३३० जहाज नाइन एन-एएलजेडलाई पनि मर्मत गराउन सोही मर्मत कम्पनीमा जुलाई २०२४ को अन्तिम सातामा पठाउने तयारी गरिरहेको निगमले जनाएको छ । रासस


Author

थप समाचार
x