अर्थ / बाणिज्य

निर्माण व्यवसायीको गुनासो : ६० अर्ब रुपैयाँ भुक्तानीका लागि पहल भएन

इकागज |
असार २१, २०८१ शुक्रबार १९:८ बजे

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि अर्बौँ रकम भुक्तानीका लागि पहल नभएको जनाएको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्माण व्यवसायीहरूको कुल ६० अर्ब रुपैयाँ भुक्तान हुन बाँकी रहे पनि त्यसतर्फ राज्यले खासै ध्यान नदिएको जनाएको हो । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन जारी भए पश्चात् म्याद थप भएपछि राज्यले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४० अर्ब रुपैयाँ र चालु आयोजनाहरूको करिब २० अर्ब भुक्तानी हुन बाँकी रहेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।


निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा निर्माणसँग सम्बन्धी कामका साथै अन्य सम्बन्धित क्षेत्रमा प्रभाव देखिएको उनले बताए । त्यस्तै उनले राज्यले दिनुपर्ने कुनै पनि सहुलियत नदिई उल्टै व्यवसायीहरूलाई कालोसूची मा राखिएको भन्दै आपत्ति जनाए ।

निर्माण व्यवसायीहरूको रकम भुक्तान गरिदिने प्रतिबद्धता जनाएको अवस्थामा त्यस बमोजिम तत्काल रकम भुक्तानीको व्यवस्था नभएर व्यवसायीहरू हतोत्साहित हुन पुगेको महासंघको भनाइ छ । महासंघले आवश्यक बजेट रकमान्तर एवं थप गरी यही असार मसान्तभित्रै अनिवार्य रुपमा सबै निर्माण कार्यको भुक्तानीको व्यवस्था गर्न माग गरेको छ ।


Author

थप समाचार
x