Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अर्थ / बाणिज्य

चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्य स्थल

इकागज |
असार २८, २०८१ शुक्रबार १९:५९ बजे

गण्डकी- गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा प्रचारात्मक पर्चा (ब्रोसर) तयार गर्दै सङ्घले चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा आइटिनरी सार्वजनिक गरेको संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।


जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएको अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै १३ वटा आइटिनरी सार्वजनिक गरिएको अध्यक्ष गुरुङले बताए । यहाँको संस्कार, संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी यस पदमार्गको प्रवर्द्धन र विकासका लागि पहल थालिएको उनको भनाइ छ ।

गुरुङहरूको प्राचीन बस्ती ताङतिङबाट करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रूपमा विकास गर्न खोजिएको अध्यक्ष गुरुङले बताए । उक्त पदमार्गमा पदयात्रा गर्न चाहने स्वदेशी एवं विदेशी पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले मन्त्रालयको सहयोगमा ब्रोसर तयार गरिएको बताउँदै उहाँले पर्यटकको इच्छा र समयअनुसार पदयात्रा गर्न सक्ने गरी विभिन्न १३ वटा आइटिनरी तय गरिएको जानकारी दिए ।

सङ्घले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मर्स्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा गत जेठ २१ देखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको थियो । नक्साङ्कनसँगै पदयात्रा पर्यटनको विकासका लागि आवश्यक विषयको अध्ययन एवं अनुसन्धानसमेत गरिएको गुरुङले बताए । 

गुरुङ समुदायको मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ अघि बढाउन लागिएको यो पदमार्गले परापूर्वकालमा भोटमा नुन लिन जाने संस्कृतिलाई पनि जीवन्त राख्ने विश्वास लिइएको सङ्घका महासचिव तुल गुरुङले बताए । कास्कीको लमजुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गका रूपमा चासो र चर्चा कमाएको थियो ।

पदमार्गमार्फत माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरबासलाई जोड्ने सङ्घको योजना छ । पदमार्गले पसगाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरबासलाई पनि जोड्ने छ । 

पदमार्गको नक्साङ्कन कार्य भइरहेको बताउँदै संस्थापक अध्यक्ष गुरुङले चालु आर्थिक वर्षभित्रमा नक्साङ्कन कार्यलाई पूर्णता दिइसक्ने योजना रहेको जानकारी दिए । रासस


Author

थप समाचार
x