अर्थ / बाणिज्य

११९ कम्पनीको सेयर मूल्य बढ्यो, नेप्से २,८४३ बिन्दूमा

इकागज |
असार १७, २०७८ बिहीबार १५:४१ बजे

काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १९.१२ अंकले बढेर २,८४३ बिन्दूमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने ‘सेन्सेटीभ इण्डेक्स’ १.२१ प्रतिशत अर्थात् ६.३३ अंकले बढेको छ । 

आइतबार र सोमबार सीमान्त बढेको सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक मंगलबार र बुधबार क्रमशः ४७.४९ अंक र १३ अंकले घटेको थियो । असार १ मा धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा लगानी गर्न जोखिम रहेको भन्दै सूची नै सार्वजनिक गरिदिएपछि बजारमा लगानीकर्ताले आत्मविश्वास गुमाएको देखिन्छ । बजारमा बिक्रीको चाप त्यसपछि देखिन थालेको हो । जेठ ३१ मा नेप्से अहिलेसम्मकै उच्चतम ३०२५।८३ बिन्दूमा पुगेको थियो । उक्त दिन दैनिक कारोबार १८ अर्ब ८८ करोड रुपैयाँ पुगेको थियो । सेयर बजार पुँजीकरण पनि ४२ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको थियो । 


नेप्सेमा बिहीबार निर्जीवन बीमा कम्पनीबाहेक अन्य सबै समूहका परिसूचक उकालो लागेका छन् । विकास बैंक सूमहको परिसूचक ३.६३, वित्त कम्पनीक समूहको परिसूचक २.९४, नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा नेपाल टेलिकमको सेयर सूचीकृत अन्य समूह १.७३ प्रतिशतले बढेको छ । 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सूचीकृत ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्यमा कुनै फेरबदल भएन । 

उकालोमा रहेको बजारमा ओरियन्टल होटल्स, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेको इन्स्योरेन्सको सबैभन्दा ठूलो ३० करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै निफ्राको सबैभन्दा धेरै २,६१६ पटक कारोबार भएको थियो । 

बिहीबार नेप्सेमा २२४ कम्पनीको ६ अर्ब ७० करोड ७७ लाख रुपैयाँ मूल्यका ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता सेयर ७० हजार एक सय ९८ पटकको कारोबारबाट खरिदबिक्री भएका छन् ।
 


Author

थप समाचार
x