अर्थ / बाणिज्य

चिनियाँ जहाज बेच्‍ने तयारी : सञ्चालन गर्दा निगमलाई पाँच वर्षमा २ अर्ब रुपैयाँ घाटा

पुष्पराज आचार्य |
असोज १९, २०७७ सोमबार १२:४० बजे

काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि चीनबाट ल्याएका १८ सिटे ४ वटा र ५८ सिटे दुई वटा गरी ६ वटै जहाज बिक्री गर्न प्रस्ताव अघि बढाएको छ । चीनमा निर्मित यी जहाजबाट निगमले कमाउनुको सट्टा उल्टै घाटा व्यहोर्नु परेकाले जहाज बिक्री गर्न लागिएको हो । यसका लागि निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । उक्त प्रस्ताव रायका लागि पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । अर्थले स्वीकृति दिएपछि जहाज बिक्रीका लागि औपचारिक बाटो खुला हुने निगमले जनाएको छ ।

अर्थ मन्त्रालयले नेपाल र चीनबीच सरकारी तहमा (जीटुजी) प्रक्रियाबाट खरिद गरिएका जहाज भएकाले चिनियाँ पक्षलाई जानकारी भए नभएको सम्बन्धमा चासो राखेको थियो । नेपालले चिन सरकार स्वामित्वको एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेसनबाट यी जहाजहरु खरिद गरेको थियो । ‘जहाज किन्दाका शर्तहरु अनुसार सेवा र पार्टस्हरु उपलब्ध गराउन नसकेकाले चिनियाँ कम्पनीले जहाज बिक्रीमा विमति राख्ने कुरा भएन,’ निगमका अध्यक्ष सुशील घिमिरेले भने, ‘जहाज सञ्चालनका कठिनाइबारे उनीहरु जानकार छन् । अब अर्थ मन्त्रालयले सहमति दिएपछि प्रक्रिया अघि बढ्छ ।’


चीनमा निर्मित ५८ सिट क्षमताको एमए ६० एउटा खरिदमा एउटा सित्तैमा र १८ सिटे वाइ-१२ ई तीन वटा किन्दा एउटा ‘उपहार’ स्वरुप पाएको थियो । सानो जहाज दुर्गममा र ठूलो जहाज ‘ट्रंक रुट’ मा उडान गर्न ल्याइएका थिए । यी जहाज उडाउने पाइलट, मर्मत सम्भारका लागि जनशक्ति उपलब्ध नहुने, पाटपूर्जा नपाइने जस्ता कारणले धेरै समय उड्न पाएका छैनन् । निगमका अनुसार एमए ६० का दुई जहाज कुल ६ हजार तीन सय १२ घण्टा उडेका छन् भने वाइ-१२ ई का चारै जहाज जम्मा तीन हजार एक सय २८ घण्टा उडेका छन् । निगमको आन्तरिक उडानमा तोकिएको सेड्युलबाट ३१ प्रतिशत उडानहरु रद्द भएको महालेखा परिक्षकको ५७ औं प्रतिवेदनमा उल्लेख छ । यसको मुख्य कारण चिनियाँ जहाज हुन् ।

चिनियाँ जहाज सञ्चालनमा ल्याएयता पाँच वर्षमा निगमलाई २ अर्ब रुपैयाँ घाटा भइसकेको छ । योमध्ये पछिल्लो दुई आर्थिक वर्षको घाटा एक अर्ब रुपैयाँ हाराहारीमा छ । नाफा कमाउन ल्याएका जहाजबाट उल्टै अत्याधिक घाटा व्यहोर्नु परेपछि निगमले यी जहाज सञ्चालन गर्न नसकेर हात उठाएको हो । सञ्चालन नगर्दा पनि पार्किङ शुल्क, बीमा शुल्कले निगमको घाटा बढाइरहेका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यी जहाज बेचेर अन्य नीजि वायु सेवा प्रदायकले प्रयोग गरिरहेका जहाजको व्यवसायिक सम्भाव्यता अध्ययन गरी खरिद गर्न निर्देशन दिएको थियो । सोही आधारमा निगमले जहाज बिक्रीको प्रक्रिया अघि बढाएको हो । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि यी जहाज बिक्री प्रक्रिया शुरु हुन्छ । अहिले आन्तरिक वायु सेवामा प्रतिस्पर्धी एयरलाइन्सहरुले दुर्गममा र छोटो दूरीमा ट्वीनेटर र ट्रंक रुटमा एटीआर, बोम्बार्डियर सीआरजे २०० इआरलगायतका जहाज प्रयोग गर्दै आएका छन् ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ सालमा चिनियाँ जहाज किन्ने सम्झौता भएको थियो भने जहाजहरु विभिन्न चरणमा प्राप्त भएका थिए । जहाज खरिदका लागि निगमले चिनियाँ एक्जिम (एक्स्पोर्ट-इम्पोर्ट) बैंकसँग लिएको ऋणको किस्ता ३६ करोड रुपैयाँ तिर्न उक्त बैंकले ताकेता गरिरहेको छ । लकडाउनपछि कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गर्न नेपालगन्ज लगिएको एउटा वाइ १२ जहाज रनवे नजिकै दुर्घटना भएपछि यसको बीमा दाबी गर्ने प्रक्रिया अघि बढेको छ । उक्त जहाजको इन्जिनबाहेक कुनै भाग उपयोगमा ल्याउन नसकिने बताइएको छ ।

चीनले जहाज बेच्दा नेपाललाई प्रशिक्षक पाइलटदेखि मर्मत-सम्भार र पाटपूर्जामा सहयोग दिने बताएको थियो । तर जहाजको मर्मत सम्भारका लागि हरेकपटक चीनबाट प्राविधिक ल्याउनुपर्ने, भनेको समयमा मर्मत टोली नआउने, पाटपूर्जा नपाइने जस्ता कारणले चिनियाँ जहाज सञ्चालन प्रभावकारी र किफायती हुन नसकेको निगमका अधिकारीहरु बताउँछन् । सानो जहाज सामान्यतः छोटो रनवेमा टेक अफ र ल्याण्डिङमा सहज हुन्छ भन्ने हो । तर, वाइ-१२ ई जहाज ल्याण्डिङमा छोटो दूरीमा रोक्न गाह्रो हुने जानकारहरु बताउँछन् । चीनले नेपाल मात्र होइन, बंगलादेशलाई पनि जहाज खरिदका लागि प्रस्ताव गरेको थियो । बंगलादेशले यसलाई अस्वीकार गर्‍यो । तर नेपालले भने खरिद गर्ने निर्णय गर्‍यो । जहाज खरिदका लागि चिनियाँ एक्जिम बैंकसँग ऋण सहायता स्वीकार गर्ने सम्बन्धी फाइलमा राय लेख्ने क्रममा अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका तत्कालीन सहसचिव लालशंकर घिमिरेले यी जहाज खरिद गरेर नेपालले सञ्चालन गर्न नसक्ने राय दिएका थिए । फलस्वरुप तत्कालीन सरकारले घिमिरेलाई अर्थ मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको थियो । नेपालमा मात्र होइन चीनमा निर्मित वाइ-८ टर्बोप्रप जहाज म्यानमारमा सन् २०१७ मा दुर्घटना हुँदा १२२ जना मारिएका थिए । यद्यपि नेपालमा भने चिनियाँ जहाज दुर्घटना हुँदा कुनै मानवीय क्षति भएको छैन् ।


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x