अर्थ / बाणिज्य

मौद्रिक नीति आइतबार सार्वजनिक गरिदैं

इकागज |
साउन २२, २०७८ शुक्रबार १२:४३ बजे

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने भएको छ । अध्यादेशमार्फत् जेठ १५ मै बजेट सार्वजनिक भएपछि केन्द्रीय बैंकले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सम्पन्न गरेको थियो । तर असारको अन्त्यमा सरकारको नेतृत्व फेरिएपछि राष्ट्र बैंकले केही समय पर्खेर मौद्रिक नीति जारी गर्ने भएको हो । 

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई केही सुझाव समेत थमाउँदै बजेट अनुमोदन हुने समयसम्म पर्खन भनेका थिए । तर बजेट अनुमोदन हुन र प्रतिस्थापन विधेयक ल्याउन समय लाग्ने भएपछि मौद्रिक नीति रोकिराख्नु अस्वभाविक हुने बुझेका शर्माले त्यसपछि मौद्रिक नीति सार्वजनिक गर्न आफूले रोक नलगाएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । 


अर्थ मन्त्रीबाट ग्रीन सिग्नल पाएपछि राष्ट्र बैंकले आइतबार मौद्रिक नीति जारी गर्ने भएको हो । गभर्नर महाप्रसाद अधिकारीले संघीय संसदको अर्थ समितिलाई मौद्रिक नीति आइतबार सार्वजनिक गर्न लागेको जानकारी गराएको बुझिएको छ । 

मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ हुने भएपछि राष्ट्र बैंकले निर्देशन जारी गरी बैंक तथा वित्तीय संस्थाको रिजर्भ्स वृद्धि गर्नुका साथै लाभांश वितरणमा समेत कडाइँ गरेको छ । राष्ट्र बैंकले संशोधित व्यवस्था अनुसार रिजर्भ बढाएर १ बाट १.३ प्रतिशत पुर्‍याएको छ । लाभांश पनि सकेसम्म कम वितरण गरेर वित्तीय संस्थामा पुँजीको आधार सुदृढ गर्न खोजेको देखिन्छ ।  

यसअघि लागू गरिएको मौद्रिक सहजता (मनिटरी इजिङ) का अतिरिक्त कर्जा असुलीमा समस्याले वित्तीय संस्थामा धेरै दबाब नपरोस् भनेर राष्ट्र बैंकले यो नीति अख्तियार गरेको जानकारहरूले बताएका छन् । 

यो पनि पढ्नुहोस् :

अर्थमन्त्रीको छलछामपछिको 'सफ्टल्यान्डिङ'


Author

थप समाचार
x