अर्थ / बाणिज्य

महँगिदै उपभोक्ताको भान्छा

खुद्रा व्यापारी भन्छन्, ‘थोक बिक्रेताले मूल्य बढाए’

कमल धिताल |
भदौ ३१, २०७८ बिहीबार १६:४२ बजे

काठमाडौँ - कुलेश्वर निवासी सुमित्रा चौलागाईं कोरोना भन्दा धेरै दैनिक आवश्यकताका वस्तुको बढेको मूल्यसँग डर लाग्ने बताउँछिन् । तरकारीदेखि हरेक वस्तुको भाउले आकाश छोइसकेको बताउँदै उनी निम्न र मध्यम आयवर्गलाई भान्छाको खर्च टार्ने समस्या बढ्दै गएको बताउँछिन् । 

‘प्रत्येक दिन भान्छामा महँगिदै गएको छ,’ कालीमाटी तरकारी बजारमा आफ्नो भान्छालाई चाहिने खाद्य सामाग्री खरिद गर्दै उनले भनिन्, ‘करिब १० दिन अघि एक कार्टुन (१० लि) सनफ्लावोर तेल २४ सयमा लिएको हाल २४ सय ५० रुपैयाँमा किन्नु परेको छ ।’ 


छाउनी बस्‍ने सूर्य हुमागाइँ पनि यस्तै पीडा सुनाउँछन् । उनी चाँडै नस्ट नहुने उपभोग्य वस्तुहरूको भाउ बढ्नुमा व्यापारीलाई दोष दिन्छन् । कोरोनाले भाउ बढेको छ भन्दै व्यापारी मूल्य बढाउँछन् । 

कोरोना त व्यापारीलाई कमाउने बहाना भएको कालीमाटी तरकारी बजारमा भेटिएका राम थापाको भनाई छ । दैनिक उपभोग्य वस्तुहरूको भाउ अत्याधिक बढेको छ । तरकारी, फलफूलको भाउ पनि त्यस्तै छोइनसक्नु भएको उपभोक्ताको गुनासाे छ ।

कालीमाटी तरकारी बजारमा व्यापार गर्दै आएका सुमन खाती वर्षा मौसममा स्थानीय बजार तथा भारतबाट तरकारी आपूर्ति सहज नभएकाले पनि भाउ बढेकाे बताउछन् । मौसमी तरकारी बाहेक अन्य तरकारीको भाउ सामान्य बढ्नु स्वाभाविक भएको उनको भनाइ छ । 

कोभिडको कारणले गर्दापनि आयातमा केही कमी आएको भन्दै उनले स्थानीय तरकारी आउने काठमाडौँ वरपरका स्थानहरू मकवानपुर, धादिङ्ग, काभ्रे लगायतका स्थानबाट अपेक्षा अनुसार तरकारी आपूर्ति हुन नसकेको बताए ।

कालिमाटी तरकारी बजारका प्रवक्ता विनय श्रेष्ठ हाल बाहिरबाट आउने तरकारीको स्थिति सामान्य रेहेको बताउँछन् । वर्षात्का कारण बाटो अवरुद्ध हुने, तरकारी संकलन लगायतका समस्या र भारतबाट आयतमा कमी आए पनि अहिले तरकारीको आपूर्ति सहज भएको उनले सुनाए । 

थोक व्यापारीले मूल्य बढाए : खुद्रा व्यवसायी

ताहाचलमा खुद्रा किराना पसल गर्दै आएका अमन श्रेष्ठ केहि महिना अघिसम्म आफूले १७ सय रुपैयाँमा बेच्ने गरेको चामल अहिले आफ्नो खरिद मूल्य नै १७ सय ५० रुपैयाँ पुगेको बताउँछन् । 

थोक व्यापारीहरूले प्रत्येक पटक खाद्यन्नको मूल्य बढाउँदा खुद्रा व्यापारीहरूले स्वभाविक रूपमा मूल्य बढाउनुपर्ने स्थिति पैदा भएको उनीहरूको भनाए छ । ‘थोक व्यापारीले प्रत्येक लटमा मूल्य वृद्धि गर्छन्, हामीले उपभोक्तासँग सामना गर्न अप्ठेरो परेको छ,’ श्रेष्ठले भने । 

कोटेश्वरमा किराना पसल गर्ने एक व्यापारी १० दिन अघि ५० किलाेको एक बोरा चिनी ४३ सय रुपैयाँमा खरिद गरेकोमा अहिले ४४ सय तिर्नु परेको सुनाउँछन् । त्यस्तै, रातो ठूलो मुसुरोदाल एक केजीको १ सय १७ परेको थियो हाल १ सय ४८ मा खरिद गर्नु परेको खुद्रा व्यापारीहरूको गुनासो छ । केहि दिन अघिमात्र आफूले एक बक्सा (७ क्रेट) अन्डा २८ सयमा खरिद गरेको तर हाल खुद्रा बिक्रेताको खरिद मूल्य नै ३२ सय रुपैयाँ पुगेको कोटेश्वरका ती व्यापारीको भनाइ छ । 

उता नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ भने नेपालमा तेल घ्यूको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको दाबी गरेको छ । संघका अनुसार सन् २०२० को अप्रिलमा प्रति मेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मे महिनामा प्रति मेट्रिक टन १३६३ डलर पुगेको छ ।  यसले गर्दा प्रति लिटर ४५ रूपैयाँसम्म मूल्य वृद्धि गर्नुपरेको संघको दाबी छ । 

नेपाल आयल निगमले लगातार इन्धनमा मूल्यवृद्धि गर्दा ढुवानी भाडा बढ्न गई खाद्यान्न र तरकारी लगायतका सबै क्षेत्रमा असर पर्ने हुँदा तेलमा त्यसको थप भार परेको भनिएपनि यसमा बजार अनुगमन गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता संरक्षणमा कुनै काम नगरेको उपभोक्ताहरूको गुनासाे छ । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x