अर्थ / बाणिज्य

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा

इकागज |
फागुन २६, २०७८ बिहीबार १८:११ बजे

वीरगञ्ज - प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धा विकासबाट मुलुकमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पुर्‍याएका बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औ राष्ट्रिय महिला उद्यमी सम्मेलनको बिहीबार यहाँ उद्घाटन गर्दै उनले मुलुक छिटै नै अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुन गइरहेको सन्दर्भमा घरेलु तथा साना उद्योग क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारहरूले एक आपसमा समन्वय गरी प्रभावकारी योजनाका साथ कार्य गर्न जरूरी भएको बताए ।

घरेलु तथा साना उद्योगहरूले मुलुकको कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै प्रधानमन्त्री देउवाले भने  'यस्ता उद्योगहरूले मुलुकभित्र लाखौँका संख्यामा रोजगारीका अवसरहरू सिर्जना गरेका छन् । यसलाई थप प्रवर्धन गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई बढाउनु आजको आवश्यकता हो । यस क्षेत्रको विकास र सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट पुर्‍याउनुपर्ने सहयोगका लागि सरकार प्रतिबद्ध छ । साथै, सुमधुर श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गराउन पनि सरकार प्रयत्नरत छ ।'


आज मुलुकमा जनताले उपभोग गर्ने अधिकांश वस्तु तथा सेवा विदेशबाट आयात भइरहेको स्थिति रहेको भन्दै देउवाले भने- 'बढ्दो आयातले एकातिर मुलुकमा औद्योगिकिकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा चुनौति सिर्जना गरेको छ भने अर्कोतिर विदेशी मुद्राको मागमा अत्याधिक चाप सिर्जना भई अर्थतन्त्रमा दबाब सिर्जना भएको छ ।'
उद्यमशिलताको संस्कृतिलाई युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्ध बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विश्व बजारमा नयाँ अवसरको रूपमा देखा परेको सूचना प्रविधिलगायतका सेवा क्षेत्रको प्रवर्धन समेत यसै क्षेत्रबाट भइरहेको सन्दर्भमा यसबाट अपेक्षित लाभ उठाउन समेत उद्योगी तथ युवा समूहलाई आग्रह गरे ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले विभिन्न आरोह अवरोह पार गरी आजको मितिमा आइपुग्दा महासंघले मुलुकभित्र लघु, घरेलु तथा साना उद्योगहरूको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा देखिएका चुनौति र सम्भावनाहरूका सम्बन्धमा राज्यलाई धेरैपटक आवश्यक राय सुझाव सहित सहकार्य गर्दै आएको बताए । साना उद्यमको माध्यमबाट मुलुकको अर्थतन्त्रलाई लियो र दिगो बनाउनेतर्फ केन्द्रित रहेको बताउँदै उनले भने  'विषम परिस्थितिमा पनि हाम्रो संकल्प र साधना निरन्तर अघि बढिरहेको छ । स्थानीय स्रोत र साधनको परिचालन गर्ने सवालमा होस या मुलुकभित्र रोजगारी सिर्जना गर्ने सवालमा होस घरेलु र साना उद्योगको योगदान उच्च रहेको तथ्यांकले पुष्टि गरेकै छ । अझ छरिएर रहेको पूँजीको परिचालन र उत्पादनमूलक क्षेत्रमा लगानी बृद्धि गर्ने कार्यमा समेत यसै क्षेत्रको महत्वपूर्ण योगदान रहेको सर्वविदितै छ ।'

सहुलियत कर्जा वितरण सहज नभएको तथा विभिन्न कार्यक्रमहरू मार्फत व्यवसायहरूलाई प्रदान गरिएको अनुदान र सहयोग वास्तविक उद्यमीले पाउन नसकेको भन्दै उनले यसतर्फ पनि प्रभावकारी नीति र कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।
महासंघकै इतिहासमा पहिलो चोटी काठमाडौ बाहिर आयोजना गरिएको महासंघको महाधिवेशनमा  लघु  घरेलु तथा साना उद्योग र महिला उद्यमशिलताको क्षेत्रमा सुधार गर्नु पर्ने र स्थापित गर्नुपर्ने सकारात्मक नीति नियम र कानुनहरूको वारेमा छलफल गरि ठोस निष्कर्षमा पुग्ने योजना रहेको उनले बताए।

महाधिवेशनबाट तीन वटै तहका सरकारले लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रम र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र सुधारका लागि पहल गर्ने नेतृत्व समेत चयन गर्ने अध्यक्ष गिरीले बताए ।
सम्मेलनको उद्घाटन समारोहमा मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्मा, मधेश प्रदेशका खानेपानी तथा सरसफाई मन्त्री उमाशंकर चौधरी, वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी, महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, महासंघ अन्तरगत केन्द्रिय महिला उद्यमी समितिका निवर्तमान सभापति अन्जु उपाध्याय लगायतले आफ्ना भनाई राखेका थिए।


Author

थप समाचार
x