अर्थ / बाणिज्य

पुँजी वृद्धिकाे याेजना पेस गर्दै बीमा कम्पनी, कसले कति थप्‍नुपर्छ?

सुरेन्द्र बजगाईं |
चैत २१, २०७८ सोमबार १२:१९ बजे

काठमाडौँ– बीमा समितिको निर्देशनमा बीमा कम्पनीहरूले पुँजी वृद्धिकाे याेजना तयार पार्न थालेका छन् । बीमा समितिकाे निर्णय अनुसार ३० दिनभित्र पुँजी वृद्धिकाे याेजना पेस गरिसक्नुपर्छ । समितिले चैत १० मा जीवन बीमा कम्पनीकाे चुक्ता पुँजी २ अर्बबाट बढाएर पाँच अर्ब र निर्जीवन बीमा कम्पनीकाे पुँजी १ अर्ब रुपैयाँबाट बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन २०७९ चैत मसान्त सम्मकाे समयसीमा दिएकाे छ । पुँजी वृद्धिकाे याेजना भने एक महिना (३०  दिनभित्र) पेस गर्नु भनिएको छ । 

हाल भएका १९ वटा जीवन बीमा कम्पनी र २० वटा निर्जीवन बीमा कम्पनी र दुई पुनर्बीमा कम्पनीहरू बीमा समितिकाे नियमनमा छन् । 


बीमा समितिले कम्पनीका प्रवर्धकले पुँजी थप्ने वा मर्जरमा जाने दुवै विकल्प खुला राखेकाे छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरामण पौडेल अहिले कम्पनीहरुले अस्वस्थ प्रतिस्पर्धा गरेका कारण मर्जरको निती लिएको बताउछँन् ।

‘हामीले एक महिना भित्र पुँजी योजना ल्याउन मागेका छौ । त्यो योजना अनुसार उनीहरुले नै आफ्नो पुँजी योजना ल्याएपछि मात्रै कम्पनीले कसरी चुक्ता पुँजी बढाउँछन् भनेर थाहा हुन्छ’ पौडेलले भने । 

समितिले चुक्ता  पुँजी बढाएर कम्पनीहरूलाई एक अर्कामा गाभ्ने-गाभिने अनुकूल वातावरण सिर्जना गर्न पुँजी वृद्धिकाे निर्णय गरेकाे हाे । बीमा कम्पनीहरू एक अर्कामा गाभिएमा कम्पनीहरूकाे संख्या घट्ने र कन्साेलिडेसनले बीमा कम्पनीकाे सञ्चालन लागत कम हुने पुँजीको बलियाे आधार निर्माण भई संस्थाहरूकाे सुदृढीकणमा मद्दत पुग्ने बताइएकाे छ । स्वस्थ प्रतिस्पर्धाले गुणस्तरीय बीमाकाे पहुँच बढ्ने र कम्पनीहरूकाे नियमन तथा सुपरिवेक्षणमा सहजता हुने पाैडेलले बताए ।

गत आर्थिक वर्षको अन्त्य सम्म जीवन बीमा कुल जनसंख्याको २७.१२ प्रतिशत थियो भने अहिले त्यो संख्या बढेर ३३ प्रतिशत पुगेको पौडेल बताउछन् ।

ताेकिएकाे पुँजी निर्धारित समयावधिभित्र पुर्‍याउन नसक्ने कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पूँजी कायम गर्नुपर्ने छ । 

‘अहिले बीमा कम्पनीहरु धेरै भएका कारण अस्वस्थ प्रतिस्पर्धा भयो । धेरै बीमा कम्पनी भए पनि विश्वास दिलाउन सकेका छैनन् । उनीहरुको चुक्ता पुँजीकाे आधार बलियाे भयो र सीमित मात्रै कम्पनी भए प्रतिस्पर्धा स्वस्थ हुन्छ,’ पाैडेलले भने ‘अहिले बजारमा दक्ष जनशक्ति कमी भए भन्ने गुनासो पनि छ । यदि बीमा कम्पनीहरु मर्जर भए त्यो समस्या पनि हट्छ ।’

बीमा कम्पनीहरूको चुक्ता पुँजीका लागि समितिले बनाएको मापदण्डअनुसार जीवन बीमा कम्पनीतर्फ नेपाल एउटा कम्पनीको मात्रै चुक्ता पुँजी देखिन्छ । तर निर्जीवन बीमा तर्फ भने कुनै पनि बीमा कम्पनीको चुक्ता पुँजी पुग्ने देखिँदैन ।

जीवन बीमा तर्फ नेपाल लाईफको मात्रै पुग्यो

हाल जीवन बीमा कम्पनी  १९ वटा कम्पनी मध्ये नेपाल लाईफको मात्रै चुक्ता  पूँजी पुरा भएको छ । उक्त कम्पनीको हालको पुँजी नै ८ अर्ब १९ करोड पुगेको छ । समितिले बनाएको नयाँ नियम अनुसार यो बीमा कम्पनीले आफ्नो  चुक्ता पुँजी बढाउनु पर्ने देखिँदैन ।  

यस्तै नेशनल लाईफको हालको पुँजी ४ अर्ब ३ करोड रहेको छ । यो कम्पनीले अब ९६ करोड ४६ लाख रुपैयाँ मात्रै थाप गर्नु पर्ने छ । जीवन बीमा कम्पनीहरू मध्ये राष्ट्रिय बीमा कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्न बाँकी रहेका पाँच जीवन बीमा कम्पनी बाहेक सबैले न्यूनतम चुक्ता पुँजी २ अर्ब कायम गरेका छन् ।

निर्जीवनतर्फ शिखर अगाडी

निर्जीवन बीमा कम्पनी तर्फ कुनै पनि कम्पनीको चुक्ता पुँजी पुर्‍याएका  छैनन् । समितिले तोकेको साढे २ अर्ब चुक्ता पुँजी पुर्‍याउन सहज देखिन्छ । निर्जीवन बीमा कम्पनीतर्फ साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न सहज देखिन्छ ।

शिखर इन्स्योरेन्स कम्पनीको हालको पुजी एक अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त कम्पनीले हकप्रद शेयर निष्कासन पछि दुई अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ पुग्ने छ ।

आइएमई जनरलले साढे २ अर्ब रुपैयाँ पुँजी पुर्‍याउनका लागि ८७ करोड ९३ लाख रुपैयाँ पुँजी थप गर्नु पर्ने देखिन्छ । यस्तै हिमालयन जनरलले एक अर्ब ३२ करोड ६४ लाख, यूनाइटेडले एक अर्ब ४७ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले एक अर्ब २१ करोड ३ लाख, प्रिमियर इन्स्योरेन्सले एक अर्ब २७ करोड २३ लाख, सगरमाथा इन्स्योरेन्सले एक अर्ब १६ करोड ६५ लाख, एभरेस्ट इन्स्योरेन्सले एक अर्ब २४ करोड, नेपाल इन्स्योरेन्सले एक अर्ब १२ करोड ११ लाख रुपैयाँ पुँजी थप गर्नु पर्नेछ ।


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x