अर्थ / बाणिज्य

ओम्‍नीसँगै मुछिएको म्याक्सलाई सेक्यूरिटी प्रेसको ठेक्का

आईटी ल्याबमा जस्तै ठेक्का हाल्ने मिति सकिनु एक साताअघि ठेक्का संशोधन

इकागज |
चैत १२, २०७७ बिहीबार १४:४० बजे

काठमाडौं :  सरकारले ओम्नी समूहसँग मिलेमतोमा सूचना-प्रविधिको ठेक्‍का हात पार्ने आरोप लागेको म्याक्स इन्टरनेशनलले सेक्यूरिटी प्रेसको ठेक्का पाएको छ । सुरक्षण मुद्रण केन्द्रले म्याक्सलाई सेक्यूरिटी प्रेस आपूर्तिका लागि ७३ करोड ८८ लाख ९८ हजार रुपैयाँको ठेक्‍का दिएको हो ।

ओम्‍नी समूह कोभिड परीक्षणका लागि आवश्‍यक स्वास्थ्य सामग्री घोटला प्रकरणमा मुछिएको कम्‍पनी पनि हो । पछिल्लो समय ओम्‍नीसँग म्याक्स इन्टरनेशनलसमेत  आइटी ल्याबसम्बन्धी विवादित ठेक्‍कामा मुछिएको थियो । साहिना हुसेन म्याक्सका सञ्‍चालक हुन् ।  


दुई वर्षअघि दूरसञ्‍चार प्राधिकरणले एक हजार सामुदायिक विद्यालयमा कम्प्युटर र इन्टरेनेटसहितको आईटी ल्याब स्थापना गर्न बोलपत्र आह्वान गरेको थियो । तत्कालीन सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाकै निर्देशनमा यो कार्यक्रम थपिएको थियो । ओम्‍नी समूह र म्याक्स इन्टरनेशनल दुवै कम्पनीको जेभीले ठेक्का पायो । दुवै कम्पनीले आपूर्ति गर्न मिल्ने गरी स्पेशिकेसन तयार पारेको आरोप लागेको थियो । त्यति मात्रै होइन, साढे तीन अर्ब रुपैयाँमा गरिएको ठेक्का सम्झौता लागतभन्दा दोब्बर बढी भएको उल्लेख छ ।

टेन्डरमा यी दुई कम्पनीले मात्र भाग लिन सकून् भनेर सुरुमा सरकारी निकायलाई पछिल्लो ५ वर्षमा करिब २ अर्ब रुपैयाँको सूचना-प्रविधि सामान आपूर्ति गरेको कम्पनी हुनुपर्ने शर्त टेन्डर सूचनामा राखिएको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्र र निर्वाचन आयोगलाई सामान आपूर्ति गरेकाे आधारमा यी दुई कम्पनी मात्रै टेन्डर प्रक्रियामा भाग लिन योग्य बनाइए। अन्य कम्पनीले यो शर्तप्रति आपत्ति जनाएपछि प्राधिकरणले ठेक्का हाल्ने मिति सकिनु एक साताअघि शर्त फुकुवा गरेको सूचना निकालेको थियो । त्यस्तै सेक्यूरिटी प्रेससम्बन्धी ठेक्कामा आवेदन दिने एक साताअघि मात्रै ठेक्का संशोधन गरेको थियो ।

ठूला परियोजनामा एक साताभित्रै संशोधित बोलपत्रअनुसार कागजपत्र जुटाउन सम्भव नहुने जानकारहरू बताउँछन् । केन्द्रमा प्रमुख कार्यकारी अधिकृत विकल पौडेल आएसँगै ओम्‍नी र म्याक्सले सूचना-प्रविधिसम्बन्धी ठेक्का एकलौटीरुपमा हात पार्दै आएका छन् ।

सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै पौडेल चर्चामा आएका थिए । सेक्यूरिटी प्रेस खरिद घोटाला प्रकरण सतहमा आएपछि उनी अमेरिका उडेका थिए ।

म्याक्सलाई भित्र्याउन ठेक्का संशोधन गरेर

दुई साताअघि केन्द्रले ठेक्‍का संशोधन गर्दै कम्पनीको योग्यतासम्बन्धी व्यवस्थासमेत संशोधन गरेको थियो । सेक्यूरिटी प्रेस खरिदका लागि भाग लिन पाउने कम्पनीको योग्यतामा फेरबदल भएको थियो । यसका लागि निर्धारण गरिएको प्रमुख योग्यता थियो- पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ४० करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्यूरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने । तर यो व्यवस्थालाई संशोधन गरेर '३८ करोड रुपैयाँ' कायम गरिएको थियो ।

त्यस्तै कम्पनीको वार्षिक कारोबारको सीमासमेत घटाइएको थियो । यसअनुसार वार्षिक ५५ करोड रुपैयाँ कारोबार गर्ने कम्पनीले समेत ठेक्‍कामा भाग लिन पाउने व्यवस्था थियो । यसअघि पछिल्ला तीन वर्षमा वार्षिक कारोबार औषत ६० करोड रुपैयाँ हाराहारी हुनुपर्ने उल्लेख थियो ।

सेक्यूरिटी प्रेसका लागि आवश्यक प्राविधिक व्यहोरासम्बन्धी मापदण्डसमेत हेरफेर भएको थियो । प्रेसले छापिएर आउने सामग्रीको 'आउटपुट रिसोलुसन' सम्बन्धी मापदण्ड संशोधन गरेको थयो । यसअघि '८१२ डिपिआइ @ एट बीट' रहेकोमा '६०० डिपिआइ @ एट बीट' राखिएको थियो ।

मेसिनमा प्रयोग हुने पेपर रोलको न्यूनतम आकार बढाएर १०.५ इन्च निर्धारण गरिएको थियो । यसअघि यसको आकार १० इन्च मात्रै थियो । यसको अधिकतम आकार ४० इन्‍च थियो । तर, अब १३.५ इन्च भए पुग्‍ने भएको छ । यो मेसिनलाई नियन्त्रण गर्न उपयोग हुने कुनै पनि सर्भर राख्‍न पाउने उल्लेख थियो । 

र यो पनि 

सेक्यूरिटी प्रेस खरिद प्रक्रिया खुकुलो बनाइयो

 संसद् विघटनको मौका छोपी सेक्यूरिटी प्रिन्टिङ खरिद प्रक्रिया सुरु
 


Author

थप समाचार
x