अर्थ / बाणिज्य

सेक्यूरिटी प्रेस खरिद प्रक्रिया खुकुलो बनाइयो

इकागज |
फागुन २७, २०७७ बिहीबार १७:५७ बजे

काठमाडौं : ठेक्‍कामा भाग लिनका लागि आवेदन दिने म्याद सक्किनु एक साता अगावै सुरक्षण मुद्रण केन्द्रले सेक्यूरिटी प्रेस खरिदसम्बन्धी ठेक्‍का संशोधन गरेको छ । केन्द्रले ठेक्कामा भाग लिन पाउने ठेकेदारको योग्यता र प्राविधिक आवश्यकतासम्बन्धी मापदण्ड फेरबदल गरेको हो । संशोधित बोलपत्रमा सेक्यूरिटी प्रेस खरिद प्रक्रियालाई खुकुलो बनाइएको छ।

गत फागुन २ मा केन्द्रले सेक्यूरिटी प्रेस खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । जसअनुसार चैत ३ मा सेक्यूरिटी प्रेस खरिदका लागि ठेक्कामा भाग लिन पाउने म्याद सकिँदै छ । तर, म्याद सक्किनु एक साता अगाडि नै केन्द्रले बोलपत्र संशोधन गरेर खरिद प्रक्रियालाई खुकुलो बनाएको छ । तत्कालीन सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा घूस प्रकरणमा मुछिएपछि सेक्युरिटी प्रिन्टिङ खरिद रोकिएको थियो ।


संसद्को सार्वजनिक लेखा समितिले गतवर्ष ८ फागुनमा आर्थिक घोटाला भएको ठहरसहित सेक्यूरिटी खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो । तर, सुरक्षण मुद्रण केन्द्रले प्रतिनिधि सभा विघटित भएको मौका छोपी नयाँ टेन्डर खुलाएको थियो । प्रेस खरिदसम्बन्धमा तत्कालीन सञ्‍चारमन्त्री बाँस्कोटाको ७० करोड कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि समितिले प्रक्रिया रोकेको थियो । अडियो बाहिरिएसँगै बाँस्कोटाले मन्त्री पदबाट राजिनामा दिए । समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गरी मुद्दा चलाउन फाइल पठाएको थियो ।

सर्वोच्‍च अदालतले सरकारको संसद् विघटनको निर्णय बदर गर्दै पुन:स्थापना गरिसकेको छ । त्यसपछि दुई पटक संसद्‍को बैठक बस्यो । आफ्‍नो निर्देशन लत्याउँदै सुरु भएको खरिद प्रक्रियामा अहिलेसम्म समितिले कुनै चासो देखाएको छैन ।

बेरुजुसम्बन्धी प्रतिवेदन तयार पार्नमा व्यस्त रहेकाले अरु मुद्दामा ध्यानै दिन नपाएको सार्वजनिक लेखा समितिका सभापति भरत शाह बताउँछन् । उनले भने, 'यस विषयमा हामीले अहिले अध्‍ययन गरेका छैनौं । सबै व्यहोरा नहेरी के हो भन्‍न सक्ने अवस्था छैन ।'

के-के छन् फेरबदल ?

सेक्यूरिटी प्रेस खरिदका लागि भाग लिन पाउने कम्पनीको योग्यतामा फेरबदल भएको छ । यसका लागि निर्धारण गरिएको प्रमुख योग्यता थियो -पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ४० करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्यूरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने । तर यो व्यवस्थालाई संशोधन गरेर '३८ करोड रुपैयाँ' कायम गरिएको छ ।

त्यस्तै कम्पनीको वार्षिक कारोबारको सीमासमेत घटाइएको छ । अब वार्षिक ५५ करोड रुपैयाँ कारोबार गर्ने कम्पनीले समेत ठेक्‍कामा भाग लिन पाउनेछन् । यसअघि पछिल्ला तीन वर्षमा वार्षिक कारोबार औषत ६० करोड रुपैयाँ हाराहारी हुनुपर्ने उल्लेख थियो ।

सेक्यूरिटी प्रेसका लागि आवश्यक प्राविधिक व्यहोरासम्बन्धी मापदण्डसमेत हेरफेर भएको छ । प्रेसले छापिएर आउने सामग्रीको 'आउटपुट रिसोलुसन' सम्बन्धी मापदण्ड संशोधन गरेको छ । यसअघि '८१२ डिपिआइ @ एट बीट' रहेकोमा '६०० डिपिआइ @ एट बीट' राखिएको छ ।

मेसिनमा प्रयोग हुने पेपर रोलको न्यूनतम आकार बढाएर १०.५ इन्च निर्धारण गरिएको छ । यसअघि यसको आकार १० इन्च मात्रै थियो । यसको अधिकतम आकार ४० इन्‍च थियो । तर अब १३.५ इन्च भए पुग्‍ने भएको छ । यो मेसिनलाई नियन्त्रण गर्न उपयोग हुने कुनै पनि सर्भर राख्‍न पाउने उल्लेख छ ।

यो पनि पढ्नुहोस् :
संसद् विघटनको मौका छोपी सेक्यूरिटी प्रिन्टिङ खरिद प्रक्रिया सुरु


Author

थप समाचार
x