अर्थ / बाणिज्य

महिला नेतृत्वका उद्यम तथा उपभोक्ता उत्थानशीलता परियोजना सम्पन्न

इकागज |
जेठ २, २०७९ सोमबार १९:१८ बजे

काठमाडौँ– अमेरिकी सहयोगमा सञ्चालित महिला नेतृत्वका उद्यम (घरमै वस्तु तथा सेवा उत्पादन गर्ने समेत) तथा उपभोक्ता उत्थानशीलता परियोजना सम्पन्न भएको छ । युएसएड तयार नेपाल– उन्नत विपद जोखिम व्यवस्थापन परियोजनाको सहयोगमा ठूलो डट कम र इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एन्ड जेन्डर इक्वालिटी (इमर्ज)ले उक्त परियोजना कार्यान्वयन गरेका थिए । परियोजना ११ मे मा एक भर्चुअल र भौतिक उपस्थिति सहितको हाइब्रीड कार्यशाला आयोजना गरी सम्पन्न गरिएको छ । 

इमर्जकी सीईओ मोना श्रेष्ठ अधिकारीले परियोजनाले व्यवसाय र ठूलो डटकम मार्फत यससँग जोडिएका इ–कमर्स प्लेटफर्म सहितका लाभग्राहीहरूलाई तालिममार्फत उत्थानशीलता विकास, वित्तीय पहुँचमा र जोखिममा आधारित लगानी सहजीकरण गरेको बताइन् । यो परियोजनाले व्यवसाय र उपभोक्तालाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनमा सहयोग गर्नेगरी मोबाइल एप्सको विकास गरेको थियो, जुन एन्ड्रोइड र आईओएस दुवैका प्रयोगकर्ताका लागि उपलब्ध छ । 


युएसएड तयार नेपालकी, चिफ अफ पार्टी ट्यामी ह्यारिसले ठूलो डट कम र इमर्जसँगको साझेदारीमा अनुदान सहयोगको कार्यान्वयन उपलब्धिमूलक भएको उल्लेख गरिन् । यसले निजी क्षेत्रको चासो, नवप्रवर्तनमा आधारित तथा लैंगिक र समावेशीताको पहल उत्साहजक र सफल ढंगले लिएको उनको भनाई थियो । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुषालले दश महिनामा परियोजनाले अनपेक्षित काम गरेको भन्दै कार्यान्वयनमा संलग्न दुई संस्थाले उद्यमीलाई सीप विकास तथा उत्थानशील उद्यमशीलतातर्फ मार्गदर्शन गरेको बताए । इमर्जकी कार्यक्रम निर्देशक एलिना उदासले उत्थानशील व्यवसाय निर्माण सम्बन्धी तालिम कार्यक्रमको उपलब्धिबारे चर्चा गर्दै व्यवसाय उत्थानशीलता, वित्तीय पहुँच र जोखिममा आधारित लगानी सम्बन्धी तालिम लिएका १२९ सहभागीमध्ये २५ महिला श्रवण सम्बन्धी तथा शारिरीक अपांगता रहेको उल्लेख गरिन् । उनले सहभागीलाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापना सम्बन्धी सीप आर्जन गरेको तथा इकमर्सतर्फ अघि बढ्दा आवश्यक पेशागत स्वास्थ्य र सुरक्षा, व्यवसाय व्यवस्थापन, बजारीकरण, प्रवर्धन, बिक्री तथा औजार र विधिबारे दक्षता हासिल गरेको उनको भनाई थियो । तालिममा सहभागीमध्ये ६० जनाले विपद् सामना गर्नुपरेको खण्डमा त्यसपछि पनि आफ्नो व्यवसायलाई निरन्तरता दिने योजना बनाएको उदासले जानकारी दिइन् । 

ठूलो डट कमकी सीओओ सुरक्षा अधिकारीले परियोजनाले ठूलो डट कममा आवद्ध गरेर ४८ महिला उद्यमी (अपांगता भएका समेत) लाई डिजिटल खाडल (ग्याप) कम गर्न मद्दत गरेको तथा विभिन्न प्रवर्धनात्मक कार्यमार्फत् विपद् पूर्वतयारी बारे तयार गरेको बताइन् । तिनीहरूका कथा र तीनसय भन्दा बढी उत्पादनको प्रवर्धन गरेको र त्यसका लागि निजी क्षेत्रका सात संस्थासँग साझेदारी गरी महिला उद्यमीलाई व्यवसाय विस्तारका लागि वित्तीय पहुँच लगायत अतिरिक्त सहयोग दिएको उनले चर्चा गरिन् । यो परियोजनाले उद्यमीहरूलाई विन्डसिटर, इनर्जी बल/बार र गो–ब्याग लगायत विपद् जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धित उत्पादन विकास गर्न उत्प्रेरित गरेको बताइएको थियो । 

परियोजना समापन कार्यशालामा ठूलो डट कमका सीईओ राजाराम नेपालले ‘म त छु तयार’ नामक मोबाइल एप्लीकेसनका विशेषताबारे बताएका थिए । त्यस्तै परियोजनासँग आवद्ध भएका विभिभ महिला उद्यमीले आफ्नो उद्यम र उत्पादनबारे चर्चा गर्नुका साथै उक्त परियोजना कसरी लाभदायक रह्यो भन्नेबारेमा चर्चा गरेका थिए । 
 


Author

थप समाचार
x