फुटबल

एनएसएल : साविक विजेता काठमाडौँ रेजर्सले भोग्यो पहिलो पराजय

इकागज |
मंसिर २३, २०८० शनिबार १९:३७ बजे

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता काठमाडौँ रेजर्सले पहिलो हार भोगेको छ ।  दशरथ रंगशालामा शनिबार साँझ बुटवल लुम्बिनी फुटबल क्लबले काठमाडौँलाई २-१ गोलअन्तरले पराजित गर्यो ।

काठमाडौँले पहिलो खेलमा जित हासिल गरेपछि लगातार २ २ खेलमा बराबरी खेलेको थियो ।


बुटवललाई जित दिलाउन बिनोङले २८ औँ तथा कप्तान एरिक विष्टले ६० औँ मिनेटमा गोल गरे ।  काठमाडौँका लागि इन्ज्युरी समयको अन्त्यतिर राजीव लोप्चनले एक गोल फर्काए ।

५ खेलबाट ७ अंकसहित बुटवल तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौँ भने ४ खेलमा ५ अंकका साथ पाँचौं स्थानमा झर्यो । यसअघि धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको थियो । 

पहिलो हाफमा २-० ले पछि परे पनि धनगढीले इलामसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ४४ औँ मिनेटमा फोडे कामाराले गोल गर्दै इलामलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा उमर थियोमले गोल गर्दै इलामको अग्रतालाई दोब्बर बनाए । तर, खेलको ६८ औँ मिनेटमा अग्यमङले पेनाल्टीमा धनगढीका लागि गोल गर्दै खेल २-१ मा पुर्‍याए । 

बेन्चबाट मैदान छिरेका ओलावाले अफिजले ८३ औं मिनेटमा हेडमार्फत धनगढीलाई बराबरीमा ल्याएका थिए ।  

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्कियो ।

यससँगै धनगढीले ८ अंक जोड्यो । समान अंक भएको पोखरा दोस्रो स्थानमा छ । इलामले ५ अंक जोडेको छ । लिग अन्तर्गत आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनबीचको खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।


 


Author

थप समाचार
x