फुटबल

२०२५ फिफा क्लब विश्वकपः ३२ टिमले खेल्दा एसियाबाट केवल ४

इकागज |
पुस ३, २०८० मंगलबार १०:४९ बजे

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२५ को फिफा क्लब विश्वकप अमेरिकामा आयोजना गर्ने निर्णय गरेको छ ।

३२ टिमको सहभागिता रहने क्लब विश्वकप अमेरिकामा सन् २०२५ को जुन १५ देखि जुलाई १३ सम्म आयोजना हुने तालिका रहेको छ ।


चार वर्षमा आयोजना हुने तय गरिएको क्लबहरूको मुख्य प्रतियोगिताको पहिलो संस्करणका लागि एसियाबाट केवल चार क्लबको सहभागिता रहने भएको छ ।

एसियाबाट एएफसी च्याम्पियन्स लिगको आधारमा ३ तथा वरीयताको आधारमा एक टिमको सहभागिता रहने छ । यस हिसाबले सन् २०२१ को एएफसी च्याम्पिन्स लिग विजेता साउदी अरेबियन क्लब अल हिलाल, सन् २०२२ को विजेता जापानी क्लब उरावा रेड डायमन्ड र सन् २०२३/२४ को विजेतासँगै वरीयताका आधारमा एक टिमले सन् २०२५ को क्लब विश्वकप खेल्न पाउने भएका छन् ।

सन् २०२५ को क्लब विश्वकपमा भने सबैभन्दा बढी सहभागिता युरोपेली क्लबहरूको हुनेछ । युरोपबाट १२ टिमले सहभागिता जनाउने सुनिश्चित हुँदा दक्षिण अमेरिकाबाट ६ क्लबले क्लब विश्वकप खेल्न पाउनेछन् ।

यता अफ्रिकाबाट ४ तथा उत्तर र मध्ये अमेरिका र क्यारेवियनबाट पनि ४ टिमको सहभागिता रहनेछ । ओसियानाबाट १ क्लबको सहभागिता रहनेछ ।


Author

थप समाचार
x