फुटबल

जर्मनीमा भइरहेको भिआर कपमा किकर्सकाे उत्कृष्ट प्रदर्शन [भिडियोसहित]

इकागज |
जेठ ६, २०८१ आइतबार १७:५३ बजे

काठमाडौँ- काठमाडौँ किकर्स फुटबल एकेडेमीको दुवै टोलीले जर्मनीमा उत्कृष्ट प्रदर्शन गरेका छन् । जर्मनीमा जारी भिआर बैंक कपमा किकर्सले उत्कृष्ट प्रदर्शन गरेको हो ।

शनिबारको सुरुवाती दुई खेलमध्ये किकर्सको दुवै टोलीले दोस्रो खेलमा जित हात पारेको हो । 


किकर्सको पहिलो टोलीले प्रतियोगितामा एक गोल पनि नबेहोरी आफ्नो अपराजित यात्रा कायम राखेको छ । दोस्रो टोलीले भने आफ्नो पहिलो खेलमा पराजय बेहोरेको हो ।

पहिलो खेलमा एसभी सिलेन्बकसँग गोलरहित बराबरी खेलेको किकर्सको पहिलो टोलीले दोस्रो खेलमा एसभी अउबिङको दोस्रो टोलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । आशुतोश महतरा र  निर्गेल शेर्पाले एक–एक गोल गरे ।

यस्तै, उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो दोस्रो खेलमा जितको लय समातेको किकर्सको दोस्रो टोलीले पनि एसभी जमरिङलाई २–१ कै गोल अन्तरले पराजित गरेको छ । दुबै गोल गिनिस बसौलाले गरेका हुन् । काठमाडौँको टोली प्रतियोगिता खेल्न बिहीबार जर्मनी पुगेको थियो ।

 नेपाली टोलीले सोमबारसम्म प्रतियोगितामा थप अरु खेल खेल्ने छ । नेपालसहित जर्मनीको विभिन्न एकेडेमीबाट ७६ टोलीका १२०० खेलाडीहरू र २० क्लबहरूबाट अन्डर १५, अन्डर १३, अन्डर ११ र अन्डर ९ उमेर समूहका खेलाडीहरूको प्रतिनिधित्व छ ।

टोलीले बायर्न म्युनिकको आइकोनिक अलियान्ज एरिना भ्रमण गर्नेछ र थप केही दिन स्पोर्ट स्कूल ओबेरहाचिङमा प्रशिक्षणमा सहभागी हुने किकर्स व्यवस्थापनले इकागजलाई जानकारी दिए । ​

मोमेन्डोफले आयोजना गर्दै आइरहेको यस प्रतियोगिताको यो ५५औं संस्करण हो ।

किकर्सले काठमाडौँको बुढानिलकण्ठमा विगत ८ वर्षदेखि फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । किकर्स ५६ वर्षअघि सुरु भएको फिन्च्त जुनियर फुटबलमा सहभागी हुने पहिलो नेपाली टिम हो ।

भिडियो:


Author

थप समाचार
x