सरकार

‘प्रचण्ड’को ‘यूटर्न’सँगै मिल्‍यो तेस्रोपटक प्रधानमन्त्रीको कुर्सी

कमल विष्ट |
पुस १०, २०७९ आइतबार १९:१७ बजे

काठमाडौं– चुनावअघिको गठबन्धन टुटाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तेस्रोपटक प्रधानमन्त्री बनेका छन् । दाहाल राजनीतिमा ‘यूटर्न’ गर्दै मुलुकको ४४औँ प्रधानमन्त्री बनेका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । प्रचण्डलाई सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको साथ रहेको छ । 


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको सात दलको संयुक्त बैठकले उनलाई राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीका रूपमा दाबी पेस गरेको थियो । राष्ट्रपति भण्डारीले उक्त दाबी संविधानको धारा ७६ को उपधारा २ अनुसार सदर गरेकी हुन् । उक्त धारामा दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । 

प्रचण्डलाई प्रतिनिधिसभामा दोस्रो ठूलो दल एमालेका ७८ सांसदको साथ रहेको छ । उनलाई तेस्रो ठूलो दल अर्थात् आफ्नै दलका ३२ सांसदको समर्थन छ । त्यस्तै, प्रचण्डलाई राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको साथ छ । उनलाई समर्थन गर्ने तीन स्वतन्त्र सांसद अमरेस सिंह, प्रभु शाह र अनिलकुमार शाह रहेका छन् ।

योसँगै प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलोपटक २०६५ र दोस्रोपटक २०७३ मा प्रधानमन्त्री बनेका थिए । 

को हुन् प्रचण्ड ?

प्रचण्ड नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हुन् । नेपालमा सशस्त्र ‘जनयुद्ध’को प्रयोग गरेका प्रचण्डले २५ वर्ष भूमिगत जीवन बिताएका थिए । यसबीचमा उनले नेपालमा २०५२ फागुन १ गतेदेखि दश वर्षसम्म सञ्चालन भएको ‘जनयुद्ध’को नेतृत्व गरे । २०६२–६३ को जनआन्दोलनपछि खुला राजनीतिमार्फत उनले शान्ति प्रक्रियामा संलग्न हुँदै मूलधारको राजनीतिमा होमिएका थिए ।

संविधानसभा निर्वाचन, २०६४ मा २ वटा निर्वाचन क्षेत्रमा जित्दै दाहाल गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले त्यतिबेला नौ महिना सरकार चलाएका थिए । तत्कालीन प्रधानसेनापति रुपमांगत कटुवाल प्रकरणमा ‘टसल’ भएपछि उनले २०६६ वैशाख २१ राजीनामा गरेका थिए । त्यसपछि उनी ९ वर्षपछि २०७३ सालमा दोस्रोपटक शासन सत्तामा पुगेका थिए ।

प्रचण्ड २०११ मंसिर २६ मा कास्की जिल्लाको ढिकुरपोखरी गाउँमा जन्मिएका हुन् । उनले कृषि तथा पशु विज्ञानमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन पूरा गरेका छन् । निम्‍नमध्यम वर्गीय परिवारमा जन्मिएका दाहालकाे जीवन आर्थिक दृष्टिले उतारचढाव पूर्ण रह्यो, जसले अन्ततः विद्यालय जीवनदेखि नै उनलाई नेपालको राजनीतिमा डोहाेर्‍यायो ।

विभाजित कम्युनिस्ट पार्टीका विभिन्न घटक गठन भएका बेला प्रचण्डले २०२८ सालमा पुष्पलाल (नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव) समूहबाट आफ्नो संगठित राजनीतिक जीवन सुरुवात गरेका थिए । २०३९ सालमा निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद भएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागेका थिए ।

२०४३ सालमा नेकपा (मशाल)का तत्कालीन महामन्त्री मोहन वैद्य किरणले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यसपछि उनी २०४७ सालसम्म नेकपा (माओवादी)का महामन्त्री, २०५१ सालसम्म नेकपा (एकता केन्द्र)का महामन्त्री, २०५७ सालसम्म नेकपा (माओवादी)का महामन्त्री, २०६५ सालसम्म नेकपा माओवादीका अध्यक्ष र त्यसपछि आजसम्म नेकपा माओवादी केन्द्रका अध्यक्षका हैसियतमा छन् ।

चार वटा निर्वाचनमा होमिएका उनले सबैमा जित हासिल गरेका छन् । उनले २०६४ मा काठमाडौं, २०७० मा सिरहा, २०७४ सालमा चितवन र यसपालि गोरखा–२ बाट चुनाव जितेका थिए ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x