सरकार

मिटरब्याज पीडितको समस्या समाधान गर्न आवश्यक पहल भइरहेको छ : सञ्चारमन्त्री शर्मा

इकागज |
फागुन १०, २०८० बिहीबार १६:३२ बजे

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लघुवित्त र सहकारीका साथै मिटरब्याज पीडितको समस्या समाधान गर्न गम्भीर रहेको बताएकी छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले सरकारले लघुवित्त र सहकारीका साथै मिटरब्याज पीडितका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताएकी हुन् । उनले यसअघि पनि आयोग बनाएर नै मिटरब्याज पीडितको समाधानको प्रयास भइरहेको भन्दै बाँकी पीडितहरूको समस्या पनि समाधान हुने प्रतिबद्धता जनाइन् ।


व्यावहारिक रूपमा परेका समस्याहरूको यकिन गरेर समाधान गर्नैपर्ने उनको भनाइ छ । कानुनअनुसार प्रशासन कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर आएका समस्या समाधान गर्नका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले उल्लेख गरिन् ।

आफूहरूको समस्या समाधान भएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको अगुवाइमा देशभरका मिटरब्याज र लघुवित्त पीडितहरू काठमाडौँ आएका छन् । उनीहरूले लघुवित्त र वित्तीय संस्था खारेजीका साथै सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । 


Author

थप समाचार
x