सरकार

युवा पलायन हुँदा देश वृद्धाश्रम बन्ने खतरा : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज |
फागुन १९, २०८० शनिबार १३:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् ।

आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले भ्रष्टाचारविरुद्धको अभियानले निरन्तरता पाउने बताएका हुन् ।


राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उनले व्यवस्थाविरुद्ध उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताए । व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठुलो भिन्नता आउन नसकेको जनाउँदै विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको उनले जनाए ।

सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नै पर्छ । युवाहरू विदेशीने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको उल्लेख गर्दै उनले रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको बताए ।

युवाहरूमा दुर्व्यसनीको सिकार हुने क्रम बढेकाले सरकारले अब देशैभर हरेक पालिकामा रिह्याब सेन्टर खोल्ने अभियान चलाउने तयारी गरेको उनले बताए । शान्ति प्रक्रियालाई निष्कर्ष पुर्‍याउन सरकार प्रयत्नशील रहेको भन्दै श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताए ।


Author

थप समाचार
x