सरकार

मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

इकागज |
जेठ २४, २०८१ बिहीबार १९:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीको भने टुङ्गो लाग्न बाँकी रहेको उनले बताइन् ।


त्यस्तै बैठकले भारत र अमेरिका लगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गरेको छ ।

त्यस्तै मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सको नयाँ संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने निर्णय गरेको छ भने लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृती दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले ५२ वटा रोगहरूलाई संक्रामक रोगमा सूचीकृत गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माले केन्द्रको गठबन्धनमा नेपाल उन्मुक्ति पार्टी र जनमत पार्टी रहेकाले उनीहरूलाई सरकारमा समावेश गर्ने कुरा स्वभाविक रहेपछि अहिले कुन मन्त्रालयमा सहभागी गराउने भन्ने विषयमा निर्णय भइनसकेको बताइन् । 


Author

थप समाचार
x