स्वास्थ्य

यसरी मनाउनुस् स्वस्थ जन्मदिन

डा. अरुणा उप्रेती |
चैत २०, २०७७ शुक्रबार ८:५५ बजे

आजभोलि धेरैले आफ्नो जन्मदिनमा धुमधामसँग मनाउँछन् । केक काट्छन् । झिलिमिली बत्ति बाल्छन् । त्यही बत्ति ‘ह्याप्पी बर्थडे’ भन्दै फुकेर निभाउँछन् । यो जन्मदिन मनाउने सबैभन्दा वाहियात तरिका हो । जन्मदिन मनाउन खोज्नु आफैँमा नराम्रो होइन । तर, त्यसलाई कसरी मनाउने भन्‍ने कुराले धेरै अर्थ राख्छ । सकिनसकी केक किनेर किसिमको प्रबन्ध गरेर जन्मदिन मनाउनु भनेको ‘आलु खाएर पेडाको धाक लगाउनु’ जस्तै हो । 

पहिला-पहिला विभिन्‍न जातजातिका मानिसहरूले आफ्नो संस्कृतिअनुसार जन्मदिन मनाउँथे । जस्तैः नेवारी समुदायमा अण्डा वा दही सगुन दिएर जन्मदिन मनाउने चलन थियो । त्यस्तै मगर, गुरुङ, थारु आदिले पनि आफ्नो संस्कृतिअनुसारले जन्मदिन मनाउथे । तर, अहिले ती संस्कृतिमा पनि अहिले केक र क्यान्डल भित्रिसकेको छ । जुन एकदमै दुःख लाग्दो कुरा हो । यो बजारले बनाएको संस्कृति हो । बजारले हाम्रो मस्तिष्क भुटिदिएको छ । भ्रष्ट पारिदिएको छ । जब बजारले दिमाग भ्रष्ट पार्छ तब हामी मुर्ख बन्‍न थाल्छौँ । पैसा खर्चिएर केक, क्यान्डल, स्नो स्पे्र र पार्टी पोपर जस्ता अस्वस्थ सामग्री खरिद गर्न थाल्छौँ ।  


सहरमा मात्रै नभएर गाँउ-गाँउमा समेत अहिले केक जान थालिसक्यो । मानिसहरूले बारीको पाटामा बसेर केक काटेर जन्मदिन मनाउन थालेका छन् । केक काटेर जन्मदिन मनाउनुलाई इज्जतसँग जोडेर हेर्न थालिएको छ । जन्मदिन नमनाउने मानिस समाजमा पर्न छाडिसके । बालबालिकाहरूलाई सानैदेखि जन्मदिन मनाउनुपर्छ भनेर सिकाइन्छ । स्कुलहरूले पनि केक काटिदिएर नचाहिने काम गरिरहेका छन् । 

केकले बच्चाको स्वास्थ्यलाई निकै खराब गर्छ । यो एकदमै अस्वस्थकर खानेकुरा हो । जन्मदिनमा आमाबुवाले छोराछोरीलाई केक खुवाउनु भनेको आर्शिवाद दिनु होइन, श्राप दिनु हो । उनीहरूको मुटु बिग्रियोस्, मृर्गौला बिग्रियोस्, शारीरिक र मानसिक स्वास्थ्य बिग्रियोस् भनेर कामना गर्नु हो । हामीले पैसा खर्च गरेर आफ्नो र आफ्ना बालबालिकाको स्वास्थ्य बिगार्ने काम गरिरहेका छौँ । 

नेताहरूले नै जन्मदिन भनेर एकअर्कालाई केक कोच्याएर वाहियात काम गरिरहेका हुन्छन् । उनीहरूकै मूर्खतापूर्ण व्यवहार सामान्य जनताले पनि सिक्ने गर्छन् । त्यस्तै, अहिले सामाजिक सञ्जालले पनि धेरैलाई बिगारिरहेको छ । एउटाले केक काटेको फोटो होलेपछि अरुलाई पनि आफ्नो जन्मदिनमा केक नकाटि नहुने भएको छ ।

केक काटेर जन्मदिन नमनाउँदा दुनियाँले के भन्ला भन्‍ने कुराको हामीलाई चिन्ता पर्न थालेको छ । हिन्दीमा एउटा भनाई छ- ‘सबसे बडा रोग क्या कहेङ्गे लोग’ अर्थात् सबैभन्दा ठूलो रोग नै अरुले के भन्लान् भनेर सोच्नु हो । यस्ता विषयमा हामीले अरुले के सोच्लान् भन्‍न थाल्यौँ भने हामी रोगी मान्छे हौँ । केक नकाट्दैमा कोही सानोठूलो हुँदैन । कसैको जन्मदिन खल्लो हुँदैन । कसैको आमाबुवाले छोराछोरीलाई कम माया गरेको हुँदैन । 

बिना केक पनि मनाउन सकिन्छ जन्मदिन 
बिना केक कसरी मनाउने जन्मदिन भन्‍ने जिज्ञासा धेरैलाई हुन सक्छ । यो हाम्रो संस्कृतिसँग मात्र नभएर स्वास्थ्यसँग पनि जोडिएको विषय हो । केक काटेर जन्मदिन मनाउनाले संस्कृतिमा मात्रै नभइ स्वास्थ्यमा समेत असर गरिरहेको हुन्छ । 

आफ्नै भान्सामा पाक्ने परिकार खाएर पनि हामीले जन्मदिन मनाउन सक्छौँ । लाखामरी, माल्पुवा, खीर, पुरी, हलुवा जस्ता परिकार बनाउन सक्छौँ । सधैँ केकको फोटोमात्र फेसबुकमा किन हाल्ने ? कुनै जन्मदिनमा यस्ता खानेकुरा खाएको फोटो किन सामाजिक सञ्जालमा नहाल्ने ? शरीरलाई पौष्टिक तत्व दिने खानेकुरा फेसबुकमा हाल्न हामीलाई लाज लाग्छ । तर, अस्वस्थ फुलबुट्टे केक शानसँगले हालिरहेका हुन्छौँ । मिठो खानेकुरा भनेको केक मात्र हुँदैन । मासुका विभिन्‍न परिकार बनाउन सकिन्छ । भान्सामै पाइने पिठोबाट अनेक परिकार बनाएर जन्मदिनलाई विशेष बनाउन सकिन्छ । जन्मदिन आफ्नो स्वास्थ्यका लागि मनाउने कि अरुलाई देखाउन मनाउने विचार गर्नुपर्ने बेला आएको छ । 

के गर्ने बालबालिकाको जन्मदिनमा ?
- जन्मदिनमा बालबालिकालाई केही नयाँ काम गर्न सिकाउने
- राम्रो पुस्तक उपहार दिने 
- आफ्नो संस्कृति अनुसार हरेक जन्मदिनमा एउटा न एउटा परिकार बनाउन सिकाउने, यो सीप उनीहरूका लागि जीन्दगीभरको लागि काम लाग्ने सीप हो 
- घुमाउन लैजाने, नयाँ ठाँउको बारेमा जानकारी दिने 
- आफ्ना पुर्खा र इतिहासको बारेमा जानकारी दिने


Author

डा. अरुणा उप्रेती

डा. उप्रेती जनस्वास्थ्यविद् हुन् । उनी रैथाने खानपान र उपचार पध्दति प्रचारक हुन् ।


थप समाचार
x