स्वास्थ्य

निन्द्रा माया मारेर तास खेल्दै हुनुहुन्छ ?

करुणा कुँवर |
असोज २८, २०७७ बुधबार ११:२४ बजे

दशैँमा जमघट र रमाइलोका लागि धेरैले तास खेल्छन् । निन्द्रा माया मारी मारी दिनरात त्यसैमा रमाउनेहरु धेरै हुन्छन् । कोभिड-१९ले गर्दा बाहिरफेर निस्किएर जमघट गर्ने अवस्था छैन । यसपाला धेरै मानिसहरु भरभित्रै बसेर रमाइलो गर्ने मुडमा छन्  ।

जमघट र रमाइलोका नाममा केहि समय तास खेल्नु नराम्रो होइन । तर, अहिलेको अवस्थामा साथीभाइ भेला पारेर दिनरात नसुती तास खेल्दा त्यसले हाम्रो शारीरिक र मानसिक दुबै स्वास्थ्यमा नकारात्मक असर पार्छ । निन्द्रा हरेकका लागि एकदमै महत्‍वपूर्ण हुन्छ । हामी एक महिना खानेकुराबिना बाँच्न सक्छौँ । तर, हप्ता दिनसम्म पनि निन्द्रा बिना बाँच्न सक्दैनौँ ।


वयस्कहरुको लागि आठ घण्टा निन्द्रा अनिवार्य हुन्छ । बालबालिका र किशोरकिशोरीहरुको लागि १० देखि १२ घण्टा सुत्नु अनिवार्य हुन्छ । सुत्नु राम्रो हो । तर, कसरी सुत्ने भन्ने कुराले पनि ठूलो अर्थ राख्छ । १२ घण्टा सुत्ने भन्दैमा रातिको १२-१ बजेबाट दिउँसोको १२-१ बजेसम्म सुत्नु भने होइन ।

अचुक औषधि हो निन्द्रा 
लगातार लामो समयसम्म अनिदो बस्नु भनेको प्रकृतिको विपरित जानु हो । शरीरलाई आराम नदिनु हो । निदाउनु भनेको शरिरलाई रिचार्ज गर्नु हो । मानिस निदाएको बेला शरीरको बाहिरीसँगै उसका भित्री अंगहरुले पनि आराम लिइरहेका हुन्छन् । अहिले हामी कोभिड-१९सँग बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ भनेर हिँडिरहेका छौँ । गुर्जोदेखि विभिन्न प्राकृतिक कुराहरु खाइरहेका छौँ । तर, चाडपर्वको नाममा प्रकृतिले दिएको निन्द्रालाई धेरैले बेवास्ता गर्छन् । राति ढिला सुत्दा अथवा सुताइमा असन्तुलन हुँदा रोग प्रतिरोधात्मक क्षमतामा पनि कमि आउँछ । रोग प्रतिरोधात्मक क्षमता र मनोवैज्ञानिक स्वास्थ्य बलियो बनाउन निन्द्रा जरुरी छ । अहिलेको अवस्थामा पर्याप्त निन्द्रा एकदमै आवश्यक छ । गुर्जो, बेसार पानी खाएर मात्र मानिस बलियो हुँदैन । मानिस बलियो हुनका लागि पर्याप्त निन्द्रा पनि चाहिन्छ । रातिको सुताइ मानिसको शरीरको लागि अचुक औषधि बराबर हो । मानिसले दैनिक जीवनमा भोगिरहेका धेरै स्वास्थ्य समस्याको समाधान निन्द्राले गर्छ ।

हरेक उमेर समूहको व्यक्तिमा निन्द्राको समय तालिका फरक-फरक हुन्छ । वयस्कहरुको लागि आठ घण्टा निन्द्रा अनिवार्य हुन्छ । बालबालिका र किशोरकिशोरीहरुको लागि १० देखि १२ घण्टा सुत्नु अनिवार्य हुन्छ । सुत्नु राम्रो हो । तर, कसरी सुत्ने भन्ने कुराले पनि ठूलो अर्थ राख्छ । १२ घण्टा सुत्ने भन्दैमा रातिको १२-१ बजेबाट दिउँसोको १२-१ बजेसम्म सुत्नु भने होइन । चाडपर्व होस् वा अरु कुनै बेला हामीले छिटो सुत्ने र छिटो उठ्ने बानी बसाल्नुपर्छ । राम्रो निन्द्राले दिनको सुरुवाद पनि राम्ररी नै गर्छ ।

के हुन्छ अनिदो बस्दा ?
निन्द्राको समयतालिका नमिल्दा शरीर बिग्रिन थाल्छ । थोरै शारीरिक श्रम गर्दा पनि ज्यान दुख्छ । जति नै आराम गरे पनि थाकेको जस्तो अनुभव हुन्छ । दिउँसो सुत्ने बानी लाग्छ । दिउँसो सुत्नु एकदमै नराम्रो बानी हो । त्यस्तै, खानपानको तालिका बिग्रिन्छ । खानपानको तालिका बिग्रिएसँगै शरीर बिग्रिन्छ । शरीर बिग्रिनु भनेको विभिन्न खालका रोगहरु लाग्नु हो । दिनरात पलेटी मारेर तास खेल्दा घुँडा र ढाडका समस्याहरु देखिन सक्छ । राति अनिदो बसी तास खेल्नाले परिवारमा कलह निम्तिन्छ । घरेलु हिंसाका घटनाहरु बढ्छन् । रिस र आवेगमा चाडपर्वको मुखमा विभिन्न दुर्घटनाहरु निम्तिन सक्छन् । त्यसैले, यस्ता विषयमा समयमा सावधानी अपनाउनुपर्छ । (मनोविद् कुँवरसँग सृजना खड्काले गरेको कुराकानीमा आधारित)


Author

करुणा कुँवर

कुँवर मनोविद् हुन् ।


थप समाचार
x