स्वास्थ्य

रित्तिदै अक्सिजनको भण्डार

सृजना खड्का | पवन तिमिल्सिना |
बैशाख ८, २०७८ बुधबार १९:६ बजे

काठमाडौँ : बुधबार मात्रै नेपालमा २ हजार ३ सय ५१ जना कोभिड संक्रमित थपिए । कोभिड संक्रमित थपिदै जाँदा उपचार सामाग्रीमा पनि अभाव हुन थालेको छ सम्बन्धित निकायका अधिकारीले बताए । उनीहरूका अनुसार अहिले झट्ट अभाव नदेखिए पनि भित्री रूपमा निकै असहज भइसकेको छ । केही दिनमा त्यो अभाव बाहिर नै देखा पर्नेछ । 

संक्रमितको संख्या यही अनुपातमा बढ्दै गए छिटै नै अक्सिजन अभाव हुने स्वास्थ्य सेवा विभागको आपूर्ती व्यवस्थापन शाखाका उपेन्द्र ढुङ्गानाले बताए । ‘बिरामी बढ्दै गए अक्सिजन अभाव हुने देखिन्छ,’ उनले भने, ‘अभाव नहोस् भन्नका लागि आयातकर्ताहरूसँग छलफल भइरहेको छ । भारतका तीन अक्सिजन उत्पादन कम्पनीलाई पत्र पनि पठाएका छौँ ।’


कोभिड टेस्टिङ किड, पीपीई, फेस सिल्ड जस्ता सामाग्री भने अहिलेका लागि रहेको उनले बताए । ‘चार लाख टेस्टिङ किड र अढाई लाख जति पीपीई छ,’ उनले भने, ‘प्रदेश र स्थानिय तहमा हेर्दा पनि स्टक भएको देखिन्छ । यी सामाग्रीहरूले केही महिनालाई धान्छ तर, यही हिसाबले बढ्दै गयो भने भन्न सक्ने अवस्था छैन ।’ यसका लागि थप खरिद प्रक्रिया समेत सुरु गरिसकेको उनले बताए । 

पहिलोपटक टोसिलिजुमाब आयात गरिँदै

सरकारले पहिलोपटक कोभिड-१९ को उपचारार्थ टोसिलिजुमाब इन्जेक्सनको खरिद प्रक्रिया अघि बढाएको छ । कोभिड-१९ महामारी संक्रमित बिरामीको उपचारमा यो प्रभावकारी मानिएपछि अन्तरराष्ट्रिय बजारमा यसको माग अत्यन्त बढेको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन शाखाले इन्जेक्सनका लागि खरिद प्रक्रिया अघि बढाएको छ । छिमेकी मुलुक भारतमा समेत कोभिड-१९ उपचारका लागि प्रयोग हुने औषधि अभाव भएको खबर आइरहेको छ । अन्य भाइरस तथा ब्याक्टेरिया प्रतिरोधका लागि प्रयोग हुनेगरेको छ । 

भारतमा यसको प्रयोग बढ्न थालेपछि बजारमा त्यसको अभाव सुरु हुन थालेको त्यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले ‘टोसिलिजुमाब’ इन्जेक्सन ल्याउन कोसिस गरिरहेको बताए । ‘भारत र बंगलादेशमा अहिलेलाई निर्यात रोकेको छ,’ उनले भने, ‘त्यसैले तत्कालैलाई ल्याउन नसकिए पनि कोसिस भने गरिरहेका छौँ ।’

अक्सिजन खरिदमा कसैले इच्छा देखाएनन् 

गत चैत २१ मा शहिद गंगालाल अस्पतालले अक्सिजन खरिद तथा आपूर्तिका लागि टेन्डर आह्वान गरेको थियो । तर, १८ दिन बितिसक्दा पनि कुनै कम्पनीले इच्छा नदेखाएको अस्पतालले जानकारी दिएको छ । गत आइतबार नै बोलपत्रका लागि आवेदन दिने म्याद सकिएको थियो । निर्धारित समयमा कुनै कम्पनीले ईच्छा नदेखाएपछि अस्पतालले बोलपत्र अवधि ७ दिन थपेको छ । 

तर, एभरेष्ट अक्सिजनका सञ्चालक शिव घिमिरेले अहिले उपलब्ध गराउँदै आएको अक्सिजनमा अभाव नहुने दावी गरे । उनका अनुसार लिक्विड अक्सिजन भने भारत, पाकिस्तान, बंगलादेश र अमेरिका लगायतका मुलुकबाट भित्रिने भए पनि हावा मार्फत नै तयार गरिने अक्सिजन भने नेपालमा नै उत्पादन हुन्छ । ‘त्यो प्रकारको अक्सिजन अभाव हुने देखिदैन,’ उनले भने, ‘अहिले यहाँ १६ अक्सिजन उद्योग छन् । त्यसमा एक-दुई कम्पनी सञ्चालनमा छैनन् ।’ 

अहिले छिमेकी मुलुक भारतमा समेत अक्सिजनको अभाव छ । रोयटर्सको रिपोर्टअनुसार भारतको राजधानी नयाँ दिल्लीका अस्पतालहरूमा अक्सिजनको ठूलो अभाव देखिएको उल्लेख छ । 

रिपोर्टमा भनिएको छ, ’कोभिड-१९ को दोस्रो लहरमा द्रुत गतिमा संक्रमण बढ्न थालेपछी स्वास्थ्य पूर्वाधारमा समेत अभाव देखिन थालेको छ ।’ गत जनवरीमा अमेरिकामा देखिएको कोभिड-१९ को केस बराबर भारतमा एकैदिन संक्रमित पुगेको भनिएको छ । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा एकै दिनमा करिब २ लाख ९७ हजार केस देखिएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । 

अक्सिजनको माग बढ्यो

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामै १ करोड ५९ लाख रुपैयाँ बराबर अक्सिजन भित्रिएको छ । गत आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले आयात बढेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँ अक्सिजन आयात भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ५१ लाख रुपैयाँ बराबर अक्सिजन आयात भएको थियो । नेपालमा विशेषगरी दुई थरि प्रयोजन (मेडिकल तथा उद्योग) का लागि अक्सिजन आयात गरिन्छ । नेपालमा खासगरि भारतबाट अत्यधिक मात्रामा अक्सिजन आयात हुने गरेको छ ।  


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x