स्वास्थ्य

अक्सिजन प्लान्टका लागि व्यवसायी चौधरीले दिए २० लाख, नेतृ देउवाद्वारा १० लाख सहयोग

नवराज पनेरु |
जेठ २, २०७८ आइतबार १९:२० बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि अक्सिजन व्यवस्थापनमा जोड दिइएको छ । केही स्थानीय तह र निजी क्षेत्रबाट अक्सिजन प्लान्ट जडान र अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि विभिन्न अभियान चलाइएको छ ।

प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट जडान, अक्सिजन सिलिण्डर व्यवस्थापन लगायत कोभिड–१९ को नियन्त्रणका लागि मेयर कल्याणकारी कोष नै स्थापना गरेको छ । कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा उपचार व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरिएको मेयर नृपबहादुर वडले बताए । नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्न दातृ निकाय, सहयोगी दाता, संघ संस्था, उद्योगी, व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।


यस्तै सोही अभियानअन्तरगत अक्सिजन प्लान्ट स्थापना गर्न धनगढीका व्यवसायी सञ्जयकुमार चौधरीले सहयोग गरेका छन् । उपमहानगरपालिकाका आन्तरिक लेखा अधिकृत लेखनाथ ओझाका अनुसार मेयर कल्याणकारी कोषमा चौधरी बुक डिपोका सञ्चालक चौधरीले २० लाख रकम जम्मा गरेका हुन् । यस्तै कांग्रेस नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छिन् । मेयर कल्याणकारी कोषमा नेतृ देउवाले १० लाख रकम जम्मा गरेकी हुन् । 

यस्तै सुदूरपश्चिममा अक्सिजनको अभावमा कोभिड सङ्क्रमितको मृत्यु बढ्दै गएपछि रोटरी क्लब धनगढीले अक्सिजन कन्सन्ट्रेटर खरिद अभियान सुरु गरेको छ । सो अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी १० लाख आर्थिक सहयोग गरेको हो ।

‘कोरोना सङ्क्रमितको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिएको हो,’ संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले भने । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ । यस्तै धनगढीकै दिनेश फाउण्डेशनका प्रमुख श्याम हमालले रोटरी क्लबले चलाएको उक्त अभियानमा आर्थिक सहयोग गरेका छन् । उनले ५ लाख सहयोग गरेका हुन् । 

यस्तै धनगढीमै निःशुल्क अक्सिजन अभियान पनि सञ्चालन भइरहेको छ । ह्युमानिटी फाउण्डेसन नेपालले उक्त अभियान सञ्चालन गरिरहेको हो । फाउण्डेसनले अक्सिजनको अभाव झेलिरहेका संक्रमितको जीवन रक्षाका लागि थालेको निःशुल्क अक्सिजन अभियानमा विभिन्न क्षेत्रबाट सहयोग संकलन भइरहेको फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले जानकारी दिए । ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा निशुल्क अक्सिजन उपलब्ध गराउदै आएको छ । 
 


Author

थप समाचार
x