स्वास्थ्य

सन्दर्भ : विश्व अल्जाइमर्स दिवस

‘सुरुवाती अवस्थामा नै अल्जाइमर्सको पहिचान गर्नसके जोखिम कम हुन्छ’

इकागज |
असोज ४, २०८० बिहीबार २०:२ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- सुरुवाती अवस्थामा नै अल्जाइमर्सको पहिचान गरी नियन्त्रण गर्नसके जोखिम कम हुने विज्ञहरूले बताएका छन् ।

विश्व अल्जाइमर्स दिवसको अवसरमा बिहीबार ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौँले आयोजना गरेको कार्यक्रममा विज्ञहरूले सुरुवाति अवस्थामा नै अल्जाइमर्स पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा यसको जोखिमलाई कम गर्न सकिने बताएका हुन् । बिर्सिने रोग परिवारमा धेरैलाई नै भएको हुनसक्ने भन्दै सुरुवातमा रोगको निदान आवश्यक पर्ने विज्ञहरूको जोड छ ।


अल्जाइमर्स रोग (विस्मृति) बिर्सने समस्या निम्त्याउने प्रमुख कारण हो । यो रोग लागेको व्यक्तिमा सुरुवातमा स्मरण शक्ति ह्रास हुने र समयसँगै रोग बढ्दै जाँदा पछि कुरा गर्न र प्रतिक्रिया दिन असक्षम हुने हुन्छ ।

विज्ञहरूका अनुसार अल्जाइमर्स रोगले सोचाइ, स्मरणशक्ति र भाषा नियन्त्रण गर्ने मस्तिष्कका भागमा असर पुर्याइ व्यक्तिलाई दैनिक गतिविधि गर्न असक्षम बनाउँछ । बारम्बार एउटै कुराहरू सोधिरहनु, आफूले राखेका सामानहरू फेला पार्न नसक्नु, नियमित गरिरहने कार्यहरू गर्न अफ्ठ्यारो हुनु, सामान्य समस्याहरू समाधान गर्न नसक्नु, मिति समय तथा स्थानका सम्बन्धमा ज्ञान हराउँदै जानु, स्वविवेक शक्ति क्षीण हुनु, देखेका कुराहरू नचिन्नु अल्जाइमर्स रोगका लक्षणहरू हुन् । न्यूरोलोजिष्ट डा.राजु पौडेलले अल्जाइमर्सलाई विस्मृति रोगका रूपमा चिनिने भन्दै यो समस्या अधिकांश ६५ वर्ष उमेर पूरा भएपछि देखापर्ने बताए ।

अल्जाइमर्स हुनुको मुख्य कारण स्मरण शक्ति ह्रास हुनु भएको भन्दै बेलैमा पत्ता लगाए थप जोखिम नहुने बताए । उनले अल्जाइमर्स हुन नदिन जनचेतना आवश्यक पर्ने भन्दै यो रोग लागिसकेपछि दिमागको कोषिकाका तन्तुहरू बिस्तारै सुक्दै जाने बताए ।

डा.पौडेलले नेपालमा अनुमानित एक लाख ३० हजार व्यक्तिमा विस्मृति रोग हुन सक्ने आँकडाले देखाएको बताए । उनले अल्जाइमर्स भएका व्यक्तिहरूले गुणस्तरीय स्वस्थ जीवन अवलम्वन गर्नुपर्ने बताए । अल्जाइमर्स भएकाहरूले धेरै चिल्लो पदार्थ र नुन धेरै खान नहुने र सुगर भएमा यसको उपचार गर्नुपर्ने बताए । उनले रक्तचाप नियन्त्रण गर्नुपर्ने भन्दै समयमै उपचार गर्न सके अल्जाइमर्स बढ्ने क्रमलाई कम गर्न सकिने बताए । अल्जाइमर्स भएकाहरूले नियमित व्यायाम गर्नुपर्ने र सुर्तीजन्य तथा मादकपदार्थ सेवन गर्न नहुने बताए । अल्जाइमर्स भइहाले स्मरणशक्ति बढाउने खालको औषधिहरू दिन सकिने बताए ।

मधुमेह, अत्यधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिक रूपमा निष्क्रिय जीवनशैली लगायतका कारण अल्जाइमर्सको जोखिम बढ्ने विज्ञहरू बताउँछन् । ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरूमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरूको जोड छ । 

 


Author

थप समाचार
x