स्वास्थ्य

प्रदेशभर ओपिडी सेवा बन्द गराउने मणिपाल घटना

धनबहादुर गुरुङ |
असोज ९, २०८० मंगलबार २२:१ बजे

पोखरा - लमजुङको सुन्दरबजार नगरपालिका ६ की ५७ वर्षीय सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भयो । श्वासप्रश्वास र ढाड दुख्ने समस्या भएपछि दुरालाई आफन्तले मणिपाल पुर्‍याएका थिए । मृतकका आफन्तले मृत्युको कारण खोजे । त्यत्तिकैमा आक्रोशित मृतकका आफन्तबाट डा. अनिल शाहमाथि हातपात भयो । अनि मणिपाल तनावग्रस्त बन्यो ।

अस्पतालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सुकमायाको प्रेसर घटेर मुटुले काम गर्न छोडेको उल्लेख छ । अवस्था गम्भीर हुँदाहुँदै बचाउने प्रयासस्वरूप उपचार गरे पनि मृत्यु हुन पुगेको भन्दै चिकित्सकको कमजोरी नरहेको अस्पतालको दाबी छ । बिरामीका आफन्तले कारण सोध्ने क्रममा चर्काचर्कीपछि हात हालाहाल अवस्था आएको बताउँछन् । आफन्तसँग सल्लाह नै नगरी उपचार गर्दा स्थिति असामान्य बनेको उनीहरूको भनाइ छ । ‘आफन्तसँग सल्लाह नगरी उपचार गर्नुभयो । भेट्न पनि दिनुभएन,’ ती आफन्तले भने, ‘मान्छे मरेको हो, कुखुरा मरेको त होइन नि ? के हो कसो हो भनेर सोध्न त पाइयो नि । कमसेकम हामीले सकेनौं तपाईंको मान्छे सिरियस भइसकेको छ भनेर सल्लाह त गर्नुपर्‍यो भन्ने हाम्रो कुरा हो ।’


अस्पतालका चिकित्सकहरू अनाहकमा डाक्टर अनिल शाहले कुटाइ खाएको बताउँछन् । सुरुमा होहल्ला सुरु भएपछि एक जना डाक्टर अरु बिरामीलाई पनि असर पर्ने भन्दै हल्ला नगरिदिन आग्रह गर्दै थिए । प्रत्यक्षदर्शी डाक्टरका अनुसार उनीमाथि कन्चटमा पछाडिबाट प्रहार भइहाल्यो र चस्मा नै भुइँमा खस्यो । अनाहकमा डाक्टर शाहले कुटाइ खाएको भन्दै चिकित्सकको समूह पनि आक्रोशित बनेको छ । घटनामा संलग्न भएको भन्दै पोखरा ५ बस्ने विनय गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सोही घटनामा चिकित्सकको पक्षबाट होहल्ला र नाराबाजीमा संलग्न फिस्टेल अस्पतालमा कार्यरत डा. दिनेशकुमार विकलाई पनि प्रहरीले निन्यत्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका डा. विक रिहा भएका छन् । डाक्टरमाथि हातपात गरेको आरोप लागेका गुरुङलाई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको नियन्त्रणमा रहेका विकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मीनबहादुर गुरुङको रोहबरमा डा. गिरिधारी शर्माको जिम्मामा रिहा गरिएको हो ।

विवाद सुल्झाउन सम्बन्धमा मंगलबार भएको वार्ता विना निष्कर्ष टुंगिएको कास्कीका प्रमुख लिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पहिलो चरणमा चिकित्सकसँग र दोस्रो चरणमा मृतकका आफन्तसँग छलफल भएको थियो । घिमिरेका अनुसार चिकित्सकले हातपात गर्नेलाई कारबाही र शान्ति सुरक्षाका माग गरेका छन् । मृतकका आफन्तले प्रहरी नियन्त्रणमा रहेकालाई रिहा गर्नुपर्ने र क्षतिपूर्तिको माग गरेपछि छलफल बिनानिष्कर्ष स्थगित भएको हो । बुधबार पुनः छलफल गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । 

यता, चिकित्सहरू भने ओपिडी सेवा बन्द गरेर विरोध उत्रिएका छन् । नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गरी प्रदेशभरका अस्पतालहरूमा इमरजेन्सीबाहेकका ओपिडी सेवा ठप्प पार्न आह्वान ग¥यो । यसमा नेपाल चिकित्सक संघ पनि ऐक्यबद्धता जनाएको छ ।

हेटौंडा, लमजुङपछि पोखरामा पनि डाक्टरमाथि आक्रमण भएपछि चिकित्सकहरूले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका हुन् । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि आकस्मिकबाहेक सेवा बन्द गरिएको निर्देशक डा. भरत खत्रीले जानकारी दिए । एकपछि अर्को घटनाले चिकित्सकहरूमाथि ठूलो असुरक्षा पैदा गरेको स्वास्थ्यकर्मीहरूले बताइरहेका छन् । 

एकपछि अर्को डाक्टरमाथि आक्रमण हुने क्रमले केही वर्षमा देशमा कोही डाक्टर बस्ने स्थिति नरहने नेपाल चिकित्सक संघका सदस्यले बताए । ‘हाम्रो स्वास्थ्य प्रणाली सुधार्नका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई राम्रोसँग कार्यान्वयन गर्नुपर्छ । यो भनेको स्वास्थ्यकर्मी, चिकित्सक र नर्सहरूले सुरक्षित महसुस गर्न पाउनुपर्‍यो भन्ने हो,’ उनले भने, ‘चितवनपछि हेटौंडा, लमजुङ र पोखरामामा चिकित्सकमाथि आक्रमण भएको छ । यसमा प्रमाणका आधारमा ऐनअन्तर्गत कारबाही हुनुपर्‍यो भन्ने सबैको माग छ । यसको पूर्ण प्रत्याभूत नहुन्जेलसम्म आकस्मिकबाहेक ओपिडी सेवा बन्द गर्ने निर्णय
भएको छ ।’

मणिपाल को घटनाका सम्बन्धमा अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले दुवै पक्षले कानुनी उपचारमा जाने बाटो खुला रहेको बताए । ‘के भएको हो, के रोग लागेर ल्याएको हो भन्ने सबै जानकारी भएन । सबै जानकारी पाएको भए भन्न सकिन्थ्यो,’ उनले भने, ‘अस्पतालले पनि कानुनी उपचारका लागि जाहेरी दिएको छ । उताको पक्षबाट पनि उजुरी आएको होला ।’

चिकित्सकमाथि हातपातका घटनाका विषयमा आफ्नो पार्टी नेतृत्वको सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले राजीनामा दिएका छन् । मंगलबार उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको प्रधानमन्त्री र गृहमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, 'आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा चिकित्सकले पिटाइ खाइरहेको, उल्टो गुण्डागर्दी गर्ने जोगाएर चिकित्सकले लाठी खानुपरेको कुरा मलाई सह्य भएन ।’ त्यसैमाथि बिना आरोप गण्डकी प्रदेश प्रगतिशील चिकित्सक संघका अध्यक्षलाई हिरासतमा लिइएको बताउँदै चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्ने कडा कानुन नबनेसम्म पार्टी त्यागेको घोषणा गरेका छन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आक्रमणमा संलग्नहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ ।

साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरूलाई ऐनअनुसार नै कारबाही गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिबद्धता जनाएका चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिए । गृह मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा श्रेष्ठले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

'चिकित्सकको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागु हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ’, उनले भने । कित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उनले आन्दोलनरत चिकित्सकलाई बिरामीको


Author

थप समाचार
x