स्वास्थ्य

फार्मेसीहरूलाई महानगरले भन्याे : उपभोक्ताहरूबाट​ गुनासाे आयाे १० दिनभित्र सुधार गर्नू

इकागज |
मंसिर १९, २०८० मंगलबार २२:१२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै औषधि पसल (फार्मेसी) गर्ने व्यवसायीहरूलाई सुधारात्मक कार्य गर्न भनेकाे छ । महानगरभित्र सञ्चालित फार्मेसीहरूमा गुणस्तरीयता नपाएकाे भन्दै  गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेकाले काठमाडौँ महानगरपालिकाकाे स्वास्थ्य विभागले आज एक सूचना जारी गर्दै १० दिनभित्र सुधारात्मक कार्यहरू गर्न भनेकाे हाे । 

महानगरपालिकाले सूचनामा भनेकाे छ, 'काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको, नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, गुड फार्मेसी प्राक्टिस (जीपीपी) अनुसार औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागबाट इजाजतपत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको र यस विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार नपाईएकोले यो सूचना प्रकाशन गरेको मितिले १० (दश) दिनभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ ।'


ताेकेकाे समयमा फार्मेसी गर्ने व्यवसायीहरू नसुध्रिए कानुनबमाेजिम कारबाही गर्ने चेतावनी समेत दिएकाे सूचनामा उल्लेख गरिएकाे छ ।

उसले अगाडि भनेकाे छ, 'अतः माथि उल्लेख भए अनुसारको समय भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९ तथा काठमाडौँ महानगरपालिका जन-स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौँ महानगरपालिका जन-स्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्ने सम्मको कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'


Author

थप समाचार
x